
काठमाडौं: भलिबल खेलाडी सिपोरा गुरुङले मिडियाले मनलाग्दी लेख्नाले आफू मिडियाबाट टाढा रहेको बताइन्। सोमबार उनी अभिनित फिल्म 'भुईंमान्छे'को ट्रेलर रिलिज कार्यक्रममा एक फिल्म पत्रकारले उनले जवाफ दिन नचाहेको प्रश्न पटक पटक देहेर्याएपछि उनले मिडिया प्रति आपत्ती व्यक्त गरेकी हुन्।
पहिलोपोस्टसँग कुरा गर्दै भनिन्,'सबै भन्दिन तर केहीले प्रयोग गर्ने भाषा र शैली राम्रो लाग्दैन। अन्तर्वाता दिंदा नबोलेको कुरा पनि लेखिदिने। जवाफ दिन नचाहेको पनि सोधिरहने यो राम्रो तरिका होइन।' उनले आफू पब्लिक फिगर भएको कारण पर्सनल कुराहरु सोध्नुलाई सामान्य रुपमा लिनसक्ने प्रस्ट्याइन्। तर जवाफ दिने या नदिने त्यो पत्रकारले निर्धारण गर्न नहुने तर्क राखिन्।
सिपोरा आफू नामको लागि नभएर आफ्नो खुसीको लागि काम गर्ने बताउछिन्, चाहे त्यो अभिनय होस् या खेल। 'तर आफ्नो भ्युअर्स बढाउन कसैले अनावश्यक र सस्तो तरिका प्रयोग नगरोस्', उनी भन्छिन्। मिडियोमार्फत सजिलै प्रस्तुत नहुने सिपोरा हाल डेब्यु फिल्म 'भुईंमान्छे'को प्रचारमा लागेकी छिन्। भन्छिन्,'फिल्मको लागि हिड्नु, मिडिया फेस गर्नु मेरो जिम्मेवारी हो तर लेख्नेले बुझाईमा समस्या हुने खालको लेखिदिन भएन। यथार्थ प्रस्तुत गर्नु पर्यो।' उनले आफूलाई सम्मान गर्ने पत्रकारलाई सम्मान गर्ने र अपनान गर्नेको अपमान सहन नसकिने जनाइन्। 'पत्रकारले जस्तो व्यवहार गर्छन् मैले पनि त्यस्तै गर्ने हो।'