काठमाडौं: फिल्म 'शेरबहादुर' बन्ने भएको छ। मङ्गलबार काठमाडौंमा कार्यक्रम आयोजना गरी फिल्म 'शेरबहादुर'को घोषणा साथै शुभ मुर्हुत गरिएको हो।
गौरशंकर धुजुकको निर्माणमा तयार हुने फिल्म 'शेरबहादुर' प्रधानमन्त्री शेरबहादुर देउवाको बायोपिक भने नभएको जानकारी दिइयो। निर्माता धुजुले भने, 'शेरबहादुर नामक पात्रको जीवन कथा मात्र हो।' फिल्ममा अभिनेता सुनिल थापाले 'शेरबहादुर'को रुपमा मुख्य भूमिका निर्वाहा गर्दैछन्। उनले फिल्म 'शेरबहादुर' कै लागि मुम्बईबाट नेपाल आएको जानकारी दिए। उनी केही समय यता अभिनयकै शिलशिलामा भारत रहँदै आएका थिए।
शुभ मुर्हुतमा हास्यकलाकार हरिवंश आचार्यको उपस्थिति रहेको थियो। उनले शेरबहादुर युनिटलाई सफलताको शुभकामना व्यक्त गरे। फिल्म युनिट आजैबाट छायाँकनका लागि फ्लोरमा उत्रिएको छ।
फिल्ममा अन्य कलाकार कर्मा शाक्य, मेनुका प्रधान, रविन्द्र झा लगायत पनि अभिनयमा रहेका छन्। फिल्मको सुटिङ इनडोर सेटभित्र हुने निर्माण पक्षले जानकारी दियो। '१० प्रतिशत मात्र आउट डोर सुट हुन्छ', फिल्मका लागि निर्देशक रहेका आर राजवंशीले जानकारी दिए।