काठमाडौं : बुधवार हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि गृह मन्त्रालयले सम्पूर्ण सुरक्षा तयारी पूरा गरेको जानकारी दिएको छ।
बुधवार हुने तीन प्रदेशका ४ हजार ५ सय ८१ मतदान केन्द्रमा १ लाख ६३ हजार सुरक्षाकर्मी परिचाल गरिसकेको गृह मन्त्रालयका सहसचिव दीपक काफ्लेले बताए। उनले भने, 'सुरक्षा अवस्था पहिचान गरेर निर्वाचन हुने सबै केन्द्रमा सुरक्षाकर्मी परिचालन गरिसकेका छौं।'
दोस्रो चरणको निर्वाचनमा देशभर ४५ हजार नेपाली सेना समेत परिचालन गरिएको सहसचिव काफ्लेले बताए। नेपाली सेनाले निर्वाचन सुरक्षालाई लक्षित गरेर हवाई सुरक्षा गस्ती समेत सुरु गरिसकेको छ।
निर्वाचनको अवधिभरका लागि नेपाली सेनाको हलिकप्टर काठमाडौं, पोखरा, सुर्खेत र दिपायलमा तयारी अवस्थामा राखिएको छ। सहसचिव काफ्लेले भने, 'कुनै ठाउँमा केही भइहालेको खण्डमा तत्काल सेना पुग्ने गरी तयारी अवस्थामा रहने छन्।'
अन्य प्रदेशका म्यादी प्रहरी समेत परिचालन
गृह मन्त्रालयले निर्वाचन सुरक्षाको लागि भन्दै नियुक्त गरेका म्यादी प्रहरीमध्ये अन्य प्रदेशका पनि दोस्रो चरणको निर्वाचनमा खटिने भएका छन्। दोस्रो चरणको निर्वाचनको सुरक्षालाई भन्दै ५५ दिनका लागि भर्ना गराइका म्यादी प्रहरीको अवधी थप गरेर ९० दिन पुर्याइएको छ।स्थानीय तहको निर्वाचनका लागि प्रदेश नम्बर १ मा १२ हजार पाँच सय ५१ जना म्यादी प्रहरी, प्रदेश नम्बर २ मा १६ हजार नौ सय नौ जना, प्रदेश नम्बर ३ मा १२ हजार आठ सय जना, प्रदेश नम्बर ४ मा ६ हजार ६ सय ५७ जना, नम्बर ५ मा१४ हजार एक सय ५१ जना, प्रदेश नम्बर ६ मा पाँच हजार १८ जना भर्ती गरिएको थियो। म्यादी प्रहरीले निर्वाचन केन्द्रको पहिलो घेरामा नेपाल प्रहरीलाई सहयोग गर्ने छन्।