
काठमाडौँः मूल्य घटाएपछि इन्डक्सन चुलोको बिक्री बढेको छ ।
भारत सरकारले लगाएको अघोषित नाकाबन्दीका बेला चीन सरकारले अनुदानस्वरुप दिएको इन्डक्सन चुलोको मूल्य बढी हुँदा बिक्री हुन नसकेकामा मूल्य घटाएर बेचेपछि बिक्री बढेको हो ।
उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले चुलो बिक्री नभएपछि आपूर्ति मन्त्रालय र नेसनल ट्रेडिङ कर्पोरेसन लिमिटेडका कर्मचारीलाई बोलाएर तत्काल मूल्य समाधान गरेर बिक्री गर्न निर्देशन दिएको थियो।
समितिको निर्देशनअनुसार अहिले ती चुलो चार हजार मूल्य निर्धारण गरी बिक्री वितरण गरिएको कर्पोरेसनकी सूचना अधिकारी गीता निरौलाले जानकारी दिइन्।
हाल एक हजार ५०० थान इन्डक्सन चुलो बिक्री भएको छ । विसं २०७२ मङ्सिर २५ गते चीन सरकारले अनुदानस्वरुप दिएको ११ हजार ३०० चुलो मध्ये एक हजार ५०० थान मात्र बिक्री भएको हो।
चीन सरकारले अनुदानस्वरुप दिएको चुलोमध्ये सुरुको समयमा एक हजार ३०० थान केरुङ नाकाबाट र पछि १० हजार थान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्रिएको थियो। यसैगरी अनुदानस्वरुप रु नौ करोड ५५ लाख मूल्य बराबरको इन्डक्सन कुकर पनि यहाँ आइपुगेको थियो।
आपूर्ति मन्त्रालयका सहसचिव शम्भुप्रसाद घिमिरेको अध्यक्षतामा मूल्य निर्धारण गर्न बसेको बैठकले ढुवानी, पारवहन, भन्सार मिनाहसहितको शुल्क जोडेर चुलोको मूल्य ११ हजार ९९५ कायम गरेपछि चुलो बिक्री हुन सकेको थिएन। रासस