PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

उदयपुरका चार हजार परिवार नदी कटानको उच्च जोखिममा



रासस

उदयपुरका चार हजार परिवार नदी कटानको उच्च जोखिममा

उदयपुरः  नदी नियन्त्रणका लागि तटबन्ध निर्माण नहुँदा प्रत्येक वर्ष वर्षायाम सुरुभएपछि त्रियुगा र बरुवा नदीको बाढीका कारण उदयपुरको त्रियुगा नगरपालिकास्थित बरुवा र त्रियुगा नदी आसपास बसोबास गर्दै आएका आधा दर्जन गाउँका चार हजार घरपरिवार नदी कटानको उच्च जोखिममा पर्दै आएका छन्। 

यसवर्ष पनि समयमा नदी नियन्त्रण गर्ने तटबन्ध निर्माण नहुँदा नगरपालिकाको वडा नं १२ स्थित बोटटोल, बगरटोल, भुल्के, साधना टोलसहित नगरको वडा नं ७ को पोर्ताह, लक्ष्मीपुर र असारी क्षेत्रका झन्डै चार हजार घरपरिवार दुवै नदीबाट हुने कटानको उच्च जोखिममा पर्दै आएका हुन्। 

पोर्ताहका गणेबहादुर कार्की भन्छन्, ’अहिलेसम्म पनि नदी नियन्त्रणका लागि तटबन्ध निर्माण भएको छैन, जब रातिको समयमा वर्षा हुन्छ, हामी सबै टोलवासी जागा भएर रात काट्न थालेका छौँ, कतिखेर बरुवा नदीको बाढी गाउँमा प्रवेश गर्ने हो भन्ने चिन्ताले गाउँलेलाई भोक र निद्रा नै हुँदैन।’ 

लक्ष्मीपुरका देवकृष्ण चौधरीको गुनासो पनि उस्तै छ, उनी भन्छन्, ‘आफूहरु बरुवा र त्रियुगा नदीको घेराभित्र बसोबास गर्दै आएका छौँ, जब आकासमा गड्याङगुडुङ गर्न थाल्छ गाउँले दिनरात डर र त्रासमा बस्नुपर्छ, कतिखेर बरुवा र त्रियुगाको बाढी गाउँमा छिर्छ भन्ने चिन्ताले आफूहरुलाई सताउने गर्छ।’

अहिलेसम्म यस क्षेत्रमा त्रियुगा र बरुवा नदीले करिव एक हजार ५०० बिगाहा जग्गा कटान गरिसकेको छ। 

नदी नियन्त्रण गर्न आफूहरुले सम्बन्धित निकायलगायत त्रियुगा नगरपालिकादेखि संसद्सम्म पुग्दा पनि यसमा उचित सुनुवाइ नभएका कारण आफूहरु लामो समयदेखि वर्षायाममा नदी कटान र बाढीको चपेटामा बाँच्दै आउनुपरेको उनीहरुको गुनासो छ। 

स्थानीय जनताले आफैँले रकम सङ्कलन गरेर पनि सामान्य तटबन्ध बनाउन पहल सुरु गरेपनि पर्याप्त तारजालीको अभाव र रकमको जोहो गर्न नसक्दा वर्षायाममा आफूहरुले कष्ट भोग्दै आउन परेको स्थानीयवासी बताउँछन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell