PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

बाढीले विद्युत्गृहमा क्षति, म्याग्दीको रुमखोला लघु जलविद्युत् परियोजना बन्द



रासस

बाढीले विद्युत्गृहमा क्षति, म्याग्दीको रुमखोला लघु जलविद्युत् परियोजना बन्द

म्याग्दी : बाढीले विद्युत्गृह र नहरमा क्षति पुर्याएपछि म्याग्दीको मालीका गाउँपालिका–१ मा रहेको रुम खोला लघु जलविद्युत् परियोजना बन्द भएको छ। 

दरवाङ निस्कोट सडकबाट सोमबार राति आएको बाढीले ५१ किलोवाट क्षमताको परियोजनाको विद्युत्गृह र नहरमा क्षति पुर्याएको छ। विद्युत्गृहभित्र बाढी पसेको छ भने ५० मिटर नहर बाढीले पुरेको नेपाल रेडक्रस सोसाइटी फूलबारी उपशाखाका सभापति कमलनाथ शर्माले जानकारी दिए। 

परियोजना बन्द हुँदा निस्कोट, डाँडागाउँ, फूलबारी, महभिर, अदिभारा र दरवाङका करिब ५०० घरमा विद्युत् आपूर्ति बन्द भएको सभापति शर्माले बताए।

सडक निर्माणका क्रममा माटो व्यवस्थापन र ढल निकासका लागि नाली नबनाउँदा बाढी आएको स्थानीयवासीको भनाइ छ। 

सोही सडकबाट आएको बाढीले मालिका–१ घोर्सेका मानसिङ सापकोटा र गणेश पुनको घर जोखिममा परेको छ। मुक्ति पुन, छविलाल पुन, धनपति सापकोटा र हरदक्त आचार्यको धानखेत तथा भीमविक्रम मल्लको सुन्तलाबारी सडकबाट आएको बाढीले पुरिएको छ। 

यसैगरी, बस्ती माथि खनिएको सडकका कारण पहिरो खस्न थालेपछि मालिका गाउँपालिका–३ अदिभाराका दुई घर जोखिममा परेका छन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell