PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

लिउको विषयमा अनावश्यक टिप्पणी नगर्न चीनको आग्रह



रासस

लिउको विषयमा अनावश्यक टिप्पणी नगर्न चीनको आग्रह
फोटो श्रोतः businessinsider.com

बेइजिङः चिनियाँ नागरिक लिउ जियाबाओका विषयमा अनावश्यक र गैरजिम्मेवार टिप्पणी नगर्न चीनले आग्रह गरेको छ। 

चिनियाँ विदेश मन्त्रालयले राजधानी बेइजिङ्मा मङ्गलबार आयोजना गरेको नियमित पत्रकार भेटका क्रममा अमेरिकाले सोमबार दिएको अभिव्यक्तिका विषयमा सोधिएको प्रश्नमा विदेश मन्त्रालयका प्रवक्ता लु छाङले यस्तो प्रतिक्रिया दिएका हुन्। 

चीन सरकारको थुनामा रहेका नोवेल शान्ति पुरस्कार बिजेता चिनियाँ नागरिक लिउलाई सोमबार उपचारका लागि रिहा गरेको थियो । उनलाई क्यान्सर देखिएकोले उपचारका लागि रिहा गरिएको थियो। 

यसैबीच, सोमबार नै अमेरिकाले उनलाई उपचारपछि पनि स्वतन्त्र छोडिदिन चीन सरकारलाई आग्रह गरेको थियो। अमेरिकाको सो भनाईलाई चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लुले गैरजिम्मेवार अभिव्यक्तिको संज्ञा दिएका छन्। 

अमेरिकी अभिव्यक्तिका बारेमा पत्रकारले सोधको एक प्रश्नको जवाफमा उनले भने– चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न तथा कुनै पनि प्रकारको गैरजिम्मेवार अभिव्यक्ति दिन कसैलाई अधिकार छैन। 

प्रवक्ता लुले भने– चीन कानुनी शासन भएको देश हो र यहाँ सबै नागरिक कानुनको अगाडि समान छन्। जुनसकै देशले पनि चीनको यो न्यायिक सम्प्रभुताको सम्मान गर्नुपर्छ र कुनै व्यक्तिगत मुद्धालाई उदाहरण बनाएर टिप्पणी गर्नु राम्रो होइन। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell