
काठमाडौं : आयोजक नेपाल वायुसेवा निगमका नवीनबहादुर शाक्य अन्तर एयरलायन्स टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा मंगलबार च्याम्पियन बनेका छन्।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा भएको ‘बेस्ट अफ सेभेन’ को फाइनलमा नवीनले कतार एयरवेजका कमल श्रेष्ठलाई ११–४, ११–४, ११–० र ११–८ को सोझो सेटमा पराजित गरे।
निगमको ५०औं वार्षिकोत्सवदेखि अन्तर एयरलाइयन्स टेबलटेनिस प्रतियोगिताको सुरुवातत भएको थियो। त्यसएता सबै संस्करणमा नवीन पुरुष सिंगल्समा च्याम्पियन बन्दै आएका छन्। निगमकै सुरेशविक्रम हमाल तेश्रो भए।
निगमको ५९औं वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगितामा नवीनले सहकर्मी प्रितम प्रधानसंग मिलेर पुरुष डबल्सको उपाधि पनि हात पारे। फाइनलमा नवीन र प्रितमको जोडीले निगमकै सुरेशविक्रम हमाल र बाबुराजा अवालेको जोडीलाई ११–७, ८–११, ११–६ र ११–८ को सेटमा हराए। निगमका जयबहादुर चन्द र समिर केसी तथा हिमालय एयरलायन्सका सनी श्रेष्ठ र रोविन रिजालको जोडी संयुक्त रुपमा तेश्रो बने।
यसअघि राउन्ड रोविन लिगका आधारमा खेलाइको महिला सिंगल्स स्पर्धामा रन्जना पोखरेल पहिलो, उषा सिम्खडा दोश्रो र निमा डोमा शेर्पा तेश्रो भएका थिए। शीर्ष तीन स्थान हात पार्ने सबै निगमका हुन्।
विजेतालाई निगमको ५९औं वार्षिकोत्सवका अवसरमा शनिबार आर्मी अफिसर्स क्लबमा हुने समारोहमा पुरस्कृत गरिने छ।
पुरुष-महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः काठमाडौं–हङकङ–काठमाडौं, काठमाडौं–क्वालालम्पुर–काठमाडौं र काठमाडौं–बैंकक–काठमाडौंको हवाइ टिकट पुरस्कार स्वरुप प्राप्त गर्नेछन्। चारदिने प्रतियोगितामा ४० पुरुष र ४ महिला प्रतिस्पर्धीले विभिन्न ३ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए।