भक्तपुर : स्थानीय तहमा समायोजन गर्दा सबै सेवामा कार्यरत कर्मचारीको बढुवा गर्न नेपाल निजामती कर्मचारी सङ्गठनले माग गरेको छ।
सङ्गठन भक्तपुरमा आयोजना गरेको ‘सङ्घीयतामा निजामती कर्मचारीको समायोजन’ विषयको अन्तक्र्रियामा निजामती, स्वास्थ्य सेवा, संसद् सेवालगायत विभिन्न सेवामा कार्यरत कर्मचारीलाई समायोजन गरी स्थानीय तहमा पठाउन तथा स्थानीय तह, प्रदेश र सङ्घमा कार्य गर्ने विभिन्न सेवाका कर्मचारीलाई एक एक तह श्रेणी बढुवा गरी कर्मचारी समायोजन गर्न माग गरिएको हो।
अन्तक्र्रियामा आधिकारिक ट्रेड युनियनका केन्द्रीय अध्यक्ष पुण्यप्रसाद ढकालले विभिन्न सेवामा कार्यरत कर्मचारीबीचको विभेद व्यवस्थापनका लागि सरकारले मापदण्ड बनाउनुपर्ने बताए।
अध्यक्ष ढकालले सरकारले ट्रेड युनियनसँग छलफल नै नगरी हतारमा अवैज्ञानिक ढङ्गबाट समायोजन ऐन ल्याउन लागेको र आधिकारिक ट्रेड युनियन खारेज गरी कर्मचारीमाथि निरङ्कुशता लाद्ने षड्यन्त्रमा लागेको आरोप लगाए।
कार्यक्रममा सङ्गठनका केन्द्रीय अध्यक्ष केदारप्रसाद देवकोटाले निजामती र स्वास्थ्य सेवामा रहेको तह र श्रेणी अन्त्य गरी समायोजन गर्ने हो भने अन्तर्राष्ट्रिय मान्यताका आधार तय हुनुपर्ने, स्थानीय, प्रदेश र सङ्घमा कार्यरत कर्मचारीको सरुवा, बढुवा प्रक्रियाको विधि प्रस्ट हुनुपर्ने र समायोजन गर्दा कर्मचारीको एक तह र श्रेणी वृद्धि गर्नुपर्ने बताए। रासस