- नारायण ढुङ्गाना
यसपटक पर्याप्त पानी नपर्दा उनले रोपाइँ गर्न पाएका छैनन्। वर्षा नभएकाले नै उनले रोपाइँ गर्न नपाएका हुन्।
सिंचाइबाट पानी लगाए रोपाइँ त हुन्थ्यो होला तर खेत नगल्दै रोपेको रोपो दुई तीन दिनमै मर्न थाल्छ भनेर उनले वर्षा कुरेका हुन्।
‘अहिले रोपेर के गर्नु खेत गलेकै छैन, दुई तीन दिनमा सुख्खा हुने भएकाले रोप्नुको अर्थहुन्न’, अधिकारीले भने– “आकाश हेरेर बसेको छु, खेत गले पछिमात्र रोपाइँ गर्छु ।” तैपनि जेनतेन अन्य क्षेत्रमा भन्दा माडी र पूर्वी चितवनको भण्डारा क्षेत्रमा केही प्रतिशत रोपाइँ भएको छ।
वर्षा नभएकाले धान लगाउने किसानका खेत अहिले बाँझै छन्। यसपटक खोलाको छेउछाउ, सिंचाइकुलो भएको ठाउँ र बोरिङले पानी निकालेको क्षेत्रमा केही रोपाइँ भएको छ। आकाशे पानीको भर नपर्ने भण्डाराको गैरीखेतमा भने रोपाइँ भएको भण्डाराका किसान राजु सेंढाई बताउँछन्। अन्य क्षेत्रमा पनि रोपाइँ हुन सकेको छैन।
मध्यअसार लाग्दासम्म चितवनका अधिकांश खेत बाँझै छन्। अहिलेसम्म छ सात प्रतिशतमात्रै रोपाइँ भएको जिल्ला कृषि कार्यालयको तथ्याङ्क छ। पश्चिम चितवनमा बीउ राख्ने क्रम जारी छ। कार्यालयका योजना शाखा प्रमुख तथा सूचना अधिकारी कमला न्यौपाने यसपटक समयमै पानी नपरेकाले किसान आकाशको पानी पर्खेर बसेको बताउँछिन्।
पूर्वी चितवनको भण्डाराको राजमार्ग क्षेत्रमा अघिल्लो वर्षको यो समयमा धानका बीउ काढ्ने, खेत रोप्ने, जोत्ने क्रम देखिन्थ्यो। विगतमा खेतखेतमा ट्र्याक्टर कुदेका हुन्थे। रोपार लामबद्ध भएर रोप्दै गरेका दृष्यले मोहित बनाउँथ्यो। बाउसेले आली लगाइरहेका हुन्थे। अहिले चितवनमा यो दृष्य अहिले यो क्रम फाट्टफुट्टमात्रै छ।
दिनदिनैजस्तो फाट्टफुट्ट पानी नपरेको पनि होइन तर मूल फुट्ने र खेत गल्ने गरी पानी नै नआएको पश्चिम चितवनको जगतपुरका किसान टीकाराम पौडेल बताउँछन्।
जिल्लामा कुल २९ हजार २०० हेक्टरमा वर्षे धान लगाइन्छ। रासस