
काठमाडौँ: स्थानीय तह दोस्रो चरणको निर्वाचनअन्तर्गत आज तीन प्रदेशका ३५ जिल्लामा निर्वाचन हुँदैछ। प्रदेश नम्बर १, ५ र ७ मा का ३३४ स्थानीय तहमा आज निर्वाचन हुँदैछ। निर्वाचन आयोगले बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको समय तोकेको छ।
२० वर्षपछि पहिलो चरणमा गत वैशाख ३१ गते तीन प्रदेशमा निर्वाचन भएको थियो। दोस्रो चरणमा आज थप तीन प्रदेशमा निर्वाचन हुँदैछ।
३३४ स्थानीय तह निर्वाचनका लागि आठ हजार ३६४ मतदान केन्द्र तय भएका छन्। मतदाता परिचयपत्र वितरण आइतबारदेखि तीन दिनसम्म भइसकेको छ। मतदाता परिचयपत्र लिन नसकेका तर, नामावलीमा नाम भएका मतदाताको हकमा सरकारी निकायबाट प्रमाणित फोटोसहितको कुनै पनि परिचयपत्रले मतदान गर्न पाउने व्यवस्था निर्वाचन आयोगले गरेको छ।
दोस्रो चरणमा एक महानगर, ७ उपमहानगर, १११ नगरपालिकामा निर्वाचन हुँदैछ। यस्तै २१५ गाउँपालिकामा पनि आजै निर्वाचन हुनेछ। ३३४ स्थानीय तहमा दुई हजार ८७४ वडा छन्। पहिलो चरणमा २८३ स्थानीय तहमा निर्वाचन भएको थियो। अब तेस्रो चरणमा प्रदेश २ का आठ जिल्लामा मात्र निर्वाचन हुनेछ।
बुधबार मतदात हुन लागेको प्रदेश १ मा २६ लाख ७४ हजार ५६३ मतदाता छन्। यस्तै, प्रदेश ५ मा २४ लाख ५४ हजार ४८८ र प्रदेश ७ मा १३ लाख तीन हजार ७१४ मतदाता छन्।
दोस्रो चरणको निर्वाचनबाट १५ हजार ३८ जनप्रतिनिधि चयन हुँदैछन्।