
काठमाडौँ: स्थानीय तह दोस्रो चरणको निर्वाचन सुरु भएको छ। निर्वाचन आयोगले केही स्थानबाहेक ३५ जिल्लामा नै मतदान सुरु भएको जनाएको छ।
मतदानका लागि मतदाताहरु लामबद्ध भइसकेका छन्। मतदानका लागि बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्मको समय तोकिएको छ।
प्रदेश १, ५ र ७ का ३५ जिल्लामा आज निर्वाचन हुँदैछ। तीन प्रदेशमा आठ हजार ३६४ मतदान केन्द्र तोकिएका छन्।
दोस्रो चरणको निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाता निर्वाचनमा सहभागी हुँदैछन्।
१५ हजार ३८ जनप्रतिनिधि चयन हुने दोस्रो चरणको निर्वाचनमा ६२ हजार ४०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
तस्बिर : राेसन खड्का
मतदानका लागि परिचयपत्र लिन नसकेका नागरिकका लागि निर्वाचन आयोगले नागरिकता तथा सरकारी निकायले प्रमाणित गरेको फोटोसहितको अन्य कुनै पनि परिचयपत्र मान्य हुने जनाइसकेको छ।