
काठमाडौं : दोस्रो चरणको स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा सुदुर पश्चिमका पहाडी जिल्लामा रातभर पानी परे पनि आज बिहान भने घाम लागेको छ। घाम लागेसँगै मतदाताले सहज महसुस गरेका छन्। अछाम, बझाङ, दार्चुला लगायतका पहाडी जिल्लामा राति पानी परे पनि बिहान भने घाम लागेको छ।
यी जिल्लाहरुमा बिहानैदेखि मानिसहरु मतदानका लागि पङ्तिवद्ध भएर बसेका छन्। बझाङका केही बुथमा भने लाइन व्यवस्थित हुन नसकेको मतदान केन्द्र पाण्डू माविबाट जगत खड्काले जानकारी दिए। 'मानिसहरु बिहानैदेखि उत्साही भएर भोट हाल्न आएका छन्,' उनले भने, 'तर, व्यवस्थापकीय कमजोरीका कारण जति सहज हुनुपर्थ्यो भएको छैन।'
उता दार्चुलामा पनि बिहानैदेखि मानिसहरु भोट हाल्न जम्मा भएका छन्। निर्धारित समयमा नै यहाँका सबैजसो मतदानकेन्द्रमा भोट हाल्न सुरु भएको जानकारी पत्रकार कमलराज जोशीले दिएका छन्। 'रातभर पानी परेको भए पनि बिहानदेखि घाम लागेकाले भोट हाल्न सहज भएको छ,' जोशीले भने, 'मानिसहरुमा एकदमै उत्साह देखिन्छ।' दार्चुलामा नेपाली कांग्रेस र नेकपा एमालेबीच कडा टक्कर हुने अपेक्षा गरिएको छ।
अछामबाट एकिन्द्र कुँवरले जनाएअनुसार बिहानदेखि नै घाम लागेकाले मानिसहरु छाता ओडेर मतदानका लागि उपस्थित छन्। अछामका सबै ठाउँमा उत्साहपूर्ण रुपमा निर्वाचन जारी रहेको भए पनि मेल्लेखमा भने मतपत्र केरमेर भएको विषयलाई लिएर विवाद उत्पन्न भएको छ।