बझाङ : सुदुर पश्चिमको विकट पहाडी जिल्ला बझाङको जयपृथ्वी नगरपालिकाको वडा नम्बर ३ मा रहेको माण्डू माविमा निर्वाचन अवरुद्ध भएको छ। नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएपछि नगरपालिकाको ३ नम्बर वडाको निर्वाचन प्रभावित भएको हो।
झडपमा परी नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार प्रेमबहादुर खड्काको टाउको फुटेको छ भने भोट हाल्न पुगेका राजेन्द्र विष्टको हात भाचिएको छ। भोट हालेर बाहिर निस्किँदै गरेका खड्कालाई नेकपा एमालेका कार्यकर्ताले धकेलेपछि विवाद सुरु भएको थियो।
सुरक्षा व्यवस्था फितलो भएका कारण विवाद थप चर्किएको थियो। नेकपा एमालेको पकड क्षेत्र मानिने निर्वाचन बुथमा सामान्य विवादबाट सुरु भएको झडपले उम्मेदवार घाइते बनाएको हो। झडप अगाडिसम्म ४ सय २८ मत खसिसकेको छ। यो वडामा १ हजार ३ सय १४ मतदाता रहेका छन्।
त्यस्तै वडा नम्बर दुईको बाझगाउँ केन्द्रबाट प्रहरीले खुकुरीसहित एमाले कार्यकर्तालाई नियन्त्रणमा लिएको छ।