
लण्डनः बेलायतका प्रत्येक विद्यालयमा विशेष सुरक्षा मापदण्ड लागू गरिने भएको छ।
यसका लागि पहिलो चरणमा विद्यालय छिर्नुअघि उनीहरुले चक्कु बोके नबोकेको पत्ता लगाउने उपकरण जडान गरिने भएको छ।
विद्यालय प्रवेशद्वारमा विद्यार्थीले हतियार वा चक्कु बोके नबोकेको बारेमा पत्ता लगाउनका लागि यस्तो उपकरण (मेटल डिटेक्टर) जडान गर्न लागिएको लण्डनको महानगर कार्यालयले जनाएको छ।
लण्डनका मेयर सादिक खानले विद्यार्थीले चक्कु बोकेको पत्ता लगाउनका लागि यस्तो संयन्त्र जडान गर्न लागिएको र यसबाट चक्कु बोक्ने युवायुवतीहरुको लत हटाउन सहज हुने बताए।
पछिल्लो समय बेलायतमा चक्कु आतङ्क मच्चिने गरेको छ। यस वर्षमात्र बेलायतमा २४ जनाको चक्कु प्रहारबाटै ज्यान गएको छ।
हालैमात्र गरिएको एक अनुसन्धानबाट ती हत्यामा संलग्न भएकामध्ये सबैजसो २५ बर्षमुनीका युवा थिए।
युवाहरुमा पछिल्ला केही महिनायता चक्कु बोक्ने लत बढ्दै गएकोले त्यो छुटाउन सहयोग पुगोस भनेर विद्यालयमा यस्तो उपकरण जडान गर्न लागिएको मेयर सादिकले बताए।
यस हप्तामात्र पनि लण्डन महानगरपालिकाका विभिन्न तीन नगरमा चक्कु प्रहार गरी हत्या भएका तीन छुट्टाछुट्टै घटनाको सामना गरिएको प्रहरीले जनाएको थियो।
गएको हप्ता लण्डनको प्रहरीले चक्कु जफत गर्ने अभियान चलाएको थियो। प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार एक हप्तामा मात्र लण्डनका विभिन्न स्थानमा युवाहरुको साथबाट ५१८ वटा चक्कु फेला पारेको थियो।
यो कार्बाहीपछि लण्डन प्रहरीले युवालाई चक्कु बोक्ने लत छुटाउन यस्तो नीति बनाउन आवश्यक रहेकोले विद्यालयमा छिर्ने द्वारमा नै उक्त उपकरण राख्ने निर्णयमा पुगेको बताइएको छ।
बेलायतमा पछिल्ला केही समय यता आतङ्ककारी हमला र चक्कु प्रहार गरी हत्या गर्नेजस्ता हिंसात्मक घटनामा बृद्धि भएको छ। जसले गर्दा प्रहरीले विभिन्न सुरक्षा मापदण्डहरु लागू गरिरहेको छ। रासस/सिन्ह्वा