प्रधानमन्त्री शेरबहादुर देउवाका लागि असार १४ बुधवारको मतदान एउटा अग्निपरीक्षा थियो। २०५९ असोज १८ गते राजा ज्ञानेन्द्र शाहद्वारा घोषित संसदीय चुनाव सम्पन्न गर्न नसकेकोमा 'असक्षम' भन्दै बर्खास्त गरिएका थिए उनी। संसदले चुनेका प्रधानमन्त्रीलाई राजाद्वारा पदमुक्त गरिएका कारण धेरै प्रहार र अभियोग सहेका देउवालाई त्यही नियती असार १४ मा त दोहरिन्न? आशंकाहरु थिए। निर्वाचन सकिएलगत्तै असक्षमताको पगरी फ्याक्न सफल भए देउवा।
राजनीतिक नेताको सक्षमता वा असक्षमताका परीक्षक जनता हुन। देउवाका हकमा २०५९ असोज १८ मा परीक्षक बने राजा ज्ञानेन्द्र। राजाले भिडाएको अक्षमको बिल्लामाझ प्रजातन्त्र दरबारमा बुझाएको संगीन आरोपका दागी बिगतले देउवालाई करिब दशक बढी पछयाइरह्यो।
त्यो दागी बिगतलाई पनि समुल अन्त्य गरेको छ दोस्रो चरणको सफल निर्वाचनले। प्रधानमन्त्री देउवाले बाजी मारेको चुनाव बन्यो प्रदेश १, ५ र ७ का ८ हजार ३ सय ६४ मतदान केन्द्रमा उत्साहपूर्वक सम्पन्न दोस्रो चरणको स्थानीय तहको निर्वाचन।
लगातारको झरीसँगै देउवाको असफल र विवादित तीन कार्यकालको आलोक अनि बहिस्कारको राजनीतिमा लागेका राजपा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी। प्रधानमन्त्रीको कुर्सीमा चौथो पटक बसेको महिना दिनभित्रै गर्नुपरेको दोस्रो चरणको स्थानीय चुनाव। देउवाका लागि जीवन मरणसरह थियो।
लडाइ हार्दा देउवाको सरकार, सत्ता गठबन्धन मात्रै होइन, अग्लो शारीरिक कदका नेता देउवाको राजनीतिक करिअरमा नै कलंकको अर्को टीका थपिन सक्थ्यो। चौतर्फी चुनौती र प्रतिकूलतालाई संयमतापूर्वक चिर्दै उनी आफ्नो पहिलो कार्यसूची असार १४ को चुनाव सम्पन्न गर्दै थप ३ सय ३४ स्थानीय तहमा स्थानीय सरकार पुर्नस्थापित गर्न सफल भए। सत्ता गठबन्धन, सरकार र देशको संघीय गणतान्त्रिक व्यवस्थाकै लागि यो युगिन उपलव्धी हो। सत्ता सहयात्री तथा पूर्ववर्ती सरकार प्रमुख प्रचण्डले स्थापित गरेका २८३ स्थानीय सरकारमा देउवाले थप ३३४ स्थानीय सरकारको डप्फा थपेका छन्। कुल ७४४ मध्ये ६१७ स्थानीय तह अब भरिने भएको छ।
देउवा नेतृत्वको सरकारले सफलतापूर्वक सम्पन्न गराएको असार १४ को चुनावमा सबै सहयोगी रहे। राज्यका सबै अंग चुनावको पक्षमा दृढतापूर्वक उभिएकै थिए। तर, पनि अगुल्टाले हानेको कुकुर बिजुली चम्किँदा तर्सन्छ भने झै बहुकोणीय आशंका थिए, देउवामाथि।
बिहान ७ बजेदेखि सुरु मतदानमा सबेरैदेखि लाइनमा मतदाता उभिएका थिए। कतिपय स्थानमा असारे झरी अनि कतिपय स्थानमा चर्को घाम। स्थानीय सरकारका अगुवा चुन्ने अठोट तलमाथि भएन। सबैका नजरमा उत्साहपूर्वक भयो मतदान। अघिल्लो पटकभन्दा शान्तिपूर्ण पनि रह्यो।
चुनावको ५ दिन अगाडि नै निर्वाचनको लागि गृह जिल्ला डडेल्धुरा पुगेका प्रधानमन्त्री तथा मुख्य सत्तारुढ दलका सभापति देउवा स्वयमले गन्यापधुरा गाउँपालिका वडा नम्बर–१ स्थित असीग्राम उच्च माविको मतदान केन्द्रबाट सपत्नी मतदान गरे। सुदुरबाट सिंहदरबार र सानेपाको राजनीतिमा फस्ट म्यानका रुपमा उदाएका देउवाले मतदानको आफ्नो पुरानो थातथलो नत्यागेर सुदुरप्रेमको छवी पनि कायमै राखेका छन्।
अब सुदुर समस्याको स्थायी थलो होइन, संभावना र सम्वृद्धिको नयाँ भूगोल हो भनेर उनले दिएका चुनावी बाचाहरु पूरा गरे भने पक्कै पनि उनको सुदुरको मतदानको सार्थक परिणाम त्यहाँका जनताले व्यवहारमा अनुभूत गर्न पाउनेछन्। विरलै हसिलो मुद्रामा देखिने, अक्सर रिसाएका वा हतारिएका जस्ता देखिने देउवा मतदानपछिको तस्विरमा हाँसिरहेका थिए। उनले त्यो हाँसो सुदुरका जनतालाई स्थानीय सरकार गठनसँगै जोड्न र बाँड्न सके निश्चित छ सुदुरको सुन्दरता परिवर्तन र विकासको नयाँ मानक बन्न सम्भव छ।
उहिलेका असक्षम देउवा अब नयाँ गणतान्त्रिक व्यवस्थाका लागि आड भरोसा र सफल अगुवा साबित भएका छन्। सत्तामोहका कारण दोस्रो चरणको चुनाव भाँड्ने हेतुले उनको सत्तारोहण भएको आरोपहरु मित्थ्या भएका छन्। मुख्य विपक्षी नेकपा एमालेले निकै लामो र निरर्थक कसरतका साथ देउवाको सत्तारोहण रोक्न खोजेको पनि थियो। प्रधानमन्त्रीको चुनावी कार्यतालिका २ दिन पछि सार्न सभामुखलाई बाध्य पारेर एमालेले कथित प्रतिपक्षीय धर्म निर्वाह गरेको थियो। तर, ती सबै विपक्षी आरोप र आशंकाहरुमा पनि स्थायी पूर्णबिराम लागेको छ।
देउवाका लागि सुखान्त संयोग के पनि हो भने उनले चुनाव गराउन सक्षम प्रधानमन्त्रीको प्रमाणपत्र इतिहासमा दर्ज गराए। र, उनलाई असक्षम भन्दै बर्खास्त गर्ने राजा भने गद्धिच्यूत भएर नागरिक हैसियतमा पुगेका छन्। देउवाको शासन सत्ताका रमितेमा सीमित भएका छन् ज्ञानेन्द्र। न रह्यो राजसंस्था, न रहे ज्ञानेन्द्र राजा। तर, सत्तामा पुनरोदयको यो कालमा आफू उनै पूर्वराजालाई आफ्नो सक्षमता देखाउन काविल सावित हुँदैगर्दा भाग्यमानी महसुस गर्दैहोलान देउवा। कस्तो थियो उनी माथिको असक्षमको बिल्ला?
तर, बाँकी नै छन् कार्यभार
असार १४ को चुनावी सफलताका वावजुद प्रधानमन्त्री देउवाका युगिन कार्यभार बग्रेल्ती बाँकी नै छन्। राजपालाई असोज २ मा निर्धारित २ नम्बर प्रदेशको चुनावमा हाँसीहाँसी औपचारिक रुपमा भाग लिन मन्जुर गराउन बाँकी नै छ। त्यसअघि संसदमा विचाराधीन संविधान संशोधनको मुद्दा किनारा लगाउने फलामको च्यूरा सरहको काम फत्ते गर्नु नै छ। पाइला पाइलामा एम्बुस थापेर हिड्ने चतुर विपक्षी एमालेका मौसमी बेमौसमी विरोधको सामना गर्नु त उनको सदावहार चुनौती हो। २०७४ माघ ७ भित्रै संघीय र संसदीय चुनाव सम्पन्न गरेर संवैधानिक कोर्स पूरा गराउने कामको त झन हिसाबै गर्न नसक्ने चुनौतीहरु छन्।
त्यस बाहेक तराई मधेश र राजधानीबीच बढेको भावनात्मक दुरी र त्यसले आमरुपमा पारेको नकारात्मक प्रभावलाई निस्तेज पारेर सिंगो मुलुकको प्रधानमन्त्री आफू रहेको प्रमाणित गर्ने निकै पेचिलो चुनौतीले हरपल उनलाई किचिरहेको छ। सतहमा देखिनेभन्दा नदेखिने मधेश समस्याको निकासमा देउवाको योग्यता परीक्षा हुन उनको शासनकालको अन्तिम क्षणसम्मै कुर्नुपर्नेछ।
यी सबै चुनौती पार गर्न सक्ने क्षमता छ भन्ने सार्थक सन्देश मात्रै स्थापित भएको हो असार १४ को चुनावी सफलताले। यी काम पूरा नभए फेरि इतिहास क्रुर उपमा लिएर अग्ला कदका देउवाको राजनीतिक उचाइ घटाउन फेरि झम्टिरहने छ। त्यो हेक्का पक्कै छ उनलाई। त्यसैले यो सफलताबाट हौसिएर मात्रै होइन, कामको गति बढाएर उनले सरकारको डुंगा पार लगाउन सक्नुनै पर्नेछ। जनतालाई जिताउने र संविधान कार्यान्वयन गराउने चुनावी दौडमा उनको सुरुवाती सफलता निरन्तर हुन सकोस भन्दै उनलाई बधाई दिनु पक्कै अतिशयोक्ति हुनेछैन।