PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

दोस्रो चरणको निर्वाचनमा ७०.५ प्रतिशत मतदान, बझाङको दुई वटा केन्द्रमा मात्रै मतदान स्थगित



पहिलोपोस्ट

दोस्रो चरणको निर्वाचनमा ७०.५ प्रतिशत मतदान, बझाङको दुई वटा केन्द्रमा मात्रै मतदान स्थगित

काठमाडौं : निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचन शान्तिपूर्वक रुपमा सम्पन्न भएको जनाएको छ। आयोगले आज पत्रकार सम्मेलन गरी शान्तिपूर्वक रुपमा निर्वाचन भएको र ७०.५ प्रतिशत मत खसेको जानकारी गराएको हो।

बझाङको जयपृथ्वी नगरपालिकाको वडा नम्बर ३ मा रहेको माण्डू माविस्थित मतदान केन्द्र 'क' र 'ख' मा मात्रै मतदान स्थगित भएको आयोगले जनाएको छ। 

 नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएपछि मतदान स्थगित भएको हो। झडपमा परी नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार प्रेमबहादुर खड्काको टाउको फुटेको छ भने भोट हाल्न पुगेका राजेन्द्र विष्टको हात भाचिएको छ। भोट हालेर बाहिर निस्किँदै गरेका खड्कालाई नेकपा एमालेका कार्यकर्ताले धकेलेपछि विवाद सुरु भएको थियो।

झडप अगाडिसम्म ४ सय २८ मत खसिसकेको थियो। यो वडामा १ हजार ३ सय १४ मतदाता रहेका छन्। 

सोलुखुम्बुको नेचा ६ मा कसैको भोट खसेन

यस्तै सोलुखुम्बुको नेचा गाउँपालिकाको वडा नम्बर ६ मा स्थानीय तह पुनर्संरचनामा असन्तुष्ट रहेका मतदाता भोट हाल्न गएनन्। आयोगका अनुसार मतदान अधिकृत र कर्मचारीहरु पुगे पनि मतदाताहरु मतदान गर्न नआएका हुन्। 

नवलपरासीको गाउँमा दुई जनाको मात्र मत

त्यसैगरी नवलपरासीको सरावल गाउँपालिकाको वडा नम्बर ६ को एउटा मतदान केन्द्रमा दुई जनाले मात्र मतदान गरेका छन्। 

निर्वाचन आयोगका अनुसार सबैभन्दा बढी ८० प्रतिशत बाजुरामा मतदान भयो भने सबैभन्दा कम भोजपुरमा ६१ प्रतिशत मत खस्यो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell