PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

विराटनगर महानगरपालिकाको निर्वाचनमा देखिएका ५ दृश्य



अनन्तराज न्यौपाने

विराटनगर महानगरपालिकाको निर्वाचनमा देखिएका ५ दृश्य

विराटनगर : स्थानीय तहमा दोस्रो चरणको निर्वाचनअन्तर्गत मोरङमा १ सय ६ वर्षीय जेष्ठ नागरिकले मतदान गरेका छन्।
मोरङको रतुवामाई नगरपालिका वडा नं. ६ चप्रामारी डोरियाका १ सय ६ वर्षीय खुदनलाल सिंह गनगाईंले आफ्नो मताधिकारको प्रयोग गरेका हुन्।

उनले डोरिया मतदान केन्द्रबाट मतदान गरेका थिए।

आचार संहिता : अटेरी एमाले

निर्वाचनमा आचार संहिताको उल्लङ्घन फाट्टफुट्ट रूपमा पाइएको थियो। विराटनगर वडा नं. १० मा नेकपा एमालेले खडा गरेको अस्थायी कार्यालयमा चुनाव चिह्न र नारा अङ्कित ठुलाठुला ब्यानर राखिएको थियो।


नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले वडाका कार्यकर्तालाई यसका विरूद्ध उजुर गर्न निर्देशन दिएका थिए। तर, कुनै कार्यकर्ता पनि उजुरी बोकेर सम्बन्धित निकायमा गएनन्।

अशक्त सहभागी, सुविधा भएन

वृद्ध, अपाङ्ग, रोगी र अशक्तका लागि निर्वाचन स्थलसम्म आइपुग्न अनुकूल वातावरण थिएन। तथापि यस्ता मतदाताको उपस्थिति फाट्टफुट्ट थियो। 
सरकारले अनुमतिपत्र बिनाका सवारीसाधनमा रोक लगाए पनि पार्टी कार्यकर्ताले सुरक्षाकर्मीको आँखा छलेर मोटरसाइकल, कार, जिप, सिटी रिक्साको प्रयोग गर्दै मतदाता ओसारेका थिए।

यातायात निषेध, भोटर ओसार्न बस!

प्रहरीले विराटनगरका ८ स्थानबाट ६ सय ७८ मोटरसाइकल, २ कार, ४ सिटी रिक्सा र १ बस पक्राउ गरेको छ। 

प्रहरीले मुख्य चौकबाट मात्र अनुमति बिनाका सवारी साधन पक्राउ गरेको थियो। यसको फाइदा उठाउँदै प्रयोगकर्ताले भित्री बाटो अपनाएका थिए।
सबारी साधन चलाउन नपाएपछि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला साइकल चढेर वरपरका मतदान केन्द्रको निरीक्षणमा निस्किएका थिए। 

क्रियापुत्री पनि भोट हाल्न पुगे

निर्वाचनमा आफ्ना पिता ओमराज पोखरेलको काजक्रियामा बसेका दुई छोरा कृष्णराज र पुरुषोत्तम किरियापुत्रीकै भेषमा मत खसाल्न पुगेका थिए। 

मधेशी महिलाको उत्सापूर्ण सहभागिता

निर्वाचनमा महिलाको सहभागिता उत्साहजनक देखिन्थ्यो। पर्दा पथा व्याप्त रहेको भनिने मधेशी समुदायको बाक्लो बस्ती रहेको वडा नं. १४ को मतदान स्थलमा महिला मतदाताको उपस्थिति उल्लेखनीय थियो। घाममा छाता ओढेर महिलाहरू पङ्क्तिबद्ध थिए।

निर्वाचनमा माओवादी केन्द्रका नेता एवम् पूर्व मन्त्री गिरिराजमणि पोखरेलले विराटनगर महानगरपालिका वडा नं. ५ स्थित कोचाखाल स्कुलबाट मतदान गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell