PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

ओलीले भने– निर्वाचनसँगै सीमा फेरबदलको विषय लोकतन्त्रकै उपहास 



रासस

ओलीले भने– निर्वाचनसँगै सीमा फेरबदलको विषय लोकतन्त्रकै उपहास 


काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनाव भइरहँदा सीमा परिवर्तन गर्न खोज्नु लोकतन्त्रको उपहास भएको बताएका छन् । 

मदन भण्डारी फाउन्डेसनले एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ६६औँ जन्मजयन्तीका अवसरमा बुधबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले सीमा फेरबदल र मत च्यात्ने कार्यले लोकतन्त्रको सुदृढीकरणमा बल नपुग्ने बताए। 

जनादेशको सम्मानका लागि निष्पक्ष चुनाव हुनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले जननेता भण्डारीद्वारा प्रतिपादित जनताको ‘बहुदलीय जनवाद’ मा स्थानीय सरकार स्वायत्त र सुशासनयुक्त भएमा मात्र जनताको आर्थिक–सामाजिक रुपान्तरण हुनसक्ने विचार समेटिएको बताए। 

नेपाली काँग्रेसका डा रामशरण महतले भण्डारीको दूरदर्शीताको सराहना गर्दै स्थानीय तहलाई जति धेरै अधिकार प्रत्यायोजन गर्न सकिन्छ त्यति धेरै जनता सबल हुने बताए। 

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले स्वायत्त स्थानीय तथा प्रदेशका संरचना सामाजिक न्याययुक्त समृद्ध नेपाल निर्माणको आधार भएको बताए। 

सङ्घीय समाजवादी फोरमका प्रमुख सचेतक डा शिवजी यादवले शक्ति केन्द्रका रुपमा जनतालाई स्थापित गर्न देशमा निर्वाचनको खाँचो रहेको बताए। 

मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका नेता जीतेन्द्र देवले मधेसमा रहेका समस्यालाई हल गर्न एमालेका नेता भण्डारीले गठन गरेको कार्यदलमा आफू सदस्य भई काम गरेको स्मरण गर्दै मुलुकमा विकास र समृद्धि ल्याएर मात्र जननेता भण्डारीको सम्मान गर्न सकिने विचार व्यक्त गरे। 

फाउन्डेसनले धुर्मुस–सुन्तली फाउन्डेसनका संस्थापकद्वय सीताराम कट्टेल र कुन्जना घिमिरेलाई यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गरेको छ । यो पुरस्कारको राशि  एक लाख रुपैयाँ रहेको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell