PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

एमालेको मागः धाँधली भएका स्थानमा पुनः मतदान



रासस

एमालेको मागः धाँधली भएका स्थानमा पुनः मतदान

काठमाडौँः नेकपा एमालेले निर्वाचनका क्रममा सत्ताको दुरुपयोग गर्दै जनमतलाई प्रभावित पार्ने काम भएको भन्दै ती स्थानमा पुनः मतदानको माग गरेको छ।

पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले विज्ञप्ती जारी गरी सत्तारुढ पार्टीद्वारा अछाम, बझाङ, डोटी, डडेल्धुरा, कैलालीलगायतका जिल्लामा राज्यसत्ताको गरेको दुरुपयोगबाट जनमतलाई प्रभावित पार्ने कोसिस गरिएकोमा आपत्ति जनाउँदै पुनः मतदानको माग गरेका हुन्। 

अछामको साँफेबगर नगरपालिका–७ स्थित सरस्वती मावि मतदान केन्द्र, डोटीको केआइसिंह नगरपालिकामा हुलहुज्जत गरी मतदान केन्द्र कब्जा गरिएको घटना तथा अछामको मेल्लेख, पञ्चदेवल नपाको विनायक, बझाङको चैनपुर, कैलालीको बद्रगारियालगायतका ठाउँमा धाँधली गरिएकाले त्यस घटनाको भत्र्सना गर्दै धाँधली भएका मतदान केन्द्रमा पुनःमतदान गराउन विज्ञप्तिमा माग गरिएको छ। 

एमालेले राजनीतिक स्थिरता र आर्थिक विकासका लागि आवधिक निर्वाचन अपरिहार्य रहेको उल्लेख गर्दै निर्वाचनका आधारभूत मूल्य र मान्यतामा बसेर निर्वाचन सम्पन्न गराउन जिम्मेवारी निर्वाह गर्ने निजामती कर्मचारी, सुरक्षाकर्मी र पर्यवेक्षकलाई धन्यवाद दिइएको छ। 

विज्ञप्तिमा भनिएको छ– “संविधान कार्यान्वयन र लोकतान्त्रिक प्रक्रियामा स्थानीय सरकार निर्माण गर्ने सो निर्वाचनले जनताका घरदैलोमा सरकारको अनुभूति दिलाउने महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।” रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell