
काठमाडौँ: बुधबार सम्पन्न स्थानीय तह दोस्रो चरणको निर्वाचनमा अधिकांश जिल्लामा मतगणना सुरु भएको छ। ३५ जिल्लाका ३३४ स्थानीय तहमा सम्पन्न निर्वाचनमा ७०.५ प्रतिशत मतदान भएको छ। बझाङ दुई मतदान केन्द्रमा झडपका कारण मतदान स्थगित भएको हो।
उच्च पहाडी क्षेत्रहरुमा मतपेटिका संकलन कार्य जारी छ। अन्य जिल्लाहरुमा मतपेटिका संकलन गरी मतगणना बुधबार रातिदेखि नै सुरु भइसकेको छ। कतिपय स्थानमा दलीय संयन्त्रको बैठकपछि मतगणना सुरु गर्ने तयारी छ।
केही स्थानहरुमा प्रारम्भिक नतिजा समेत आइसकेको छ। गुल्मी, बैतडी, बझाङ, मोरङ, बाँके, पाँचथर, झापा, कैलाली, संखुवासभा, बर्दिया, रुपन्देही, दार्लुला, दाङ लगायतका जिल्लामा मतगणना सुरु भई प्रारम्भिक नतिजा आइसकेका छन्।
निर्वाचन आयोगले बिहीबार दिउँसोसम्म सवै स्थानको मतपेटिका संकलन भइ गणना सुरु हुने जनाएको छ। यो पटक बढीमा तीन दिनमा सवै स्थानको नतिजा आउने आयोगको दाबी छ। उच्च पहाडी क्षेत्रहरु मतपेटिका संलकनका लागि हेलिकप्टर समेत स्ट्याण्डबाई राखिएको आयोगले जनाएको छ।