
ब्रसेल्सः बेल्जियमको राजधानी ब्रसेल्समा गतहप्ता बम राख्ने योजना बनाइरहेको भनिएको एक जना व्यक्तिको हत्यापछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ।
ब्रसेल्सस्थित एक रेल स्टेसनमा प्रहरीको कारबाहीमा ती व्यक्ति मारिएका थिए। उनीसँगै यहाँ आतङ्ककारी हमला गर्ने तयारी गरिएको भनिएका केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको थियो।
ब्रसेल्सको प्रहरीले यहाँको रेल स्टेसनमा बम राख्ने योजना बनाइरहेको प्राप्त गरेको सूचनाको आधारमा गरेको कारबाहीका क्रममा सो व्यक्ति मारिएको बताएको थियो।
पहिला पनि आतङ्ककारीहरुले आक्रमण गरेको बेल्जियमको ब्रसेल्स सहरमा यसपटक पुनः अर्को हमलाको खतराका कारण प्रहरीको बाक्लो उपस्थितिका साथै सुरक्षा व्यवस्था चुस्त बनाइएको बताइएको छ।
मारिएका ती व्यक्तिको पहिचान खुलेकाले ब्रसेल्स प्रहरीले उसको निकटका कैयौँ सुराकीहरुको प्रयोग गरिरहेको छ।
ब्रसेल्स पछिल्लो समयमा यस्तो आतङ्ककारी हमलाको उच्च जोखिममा रहेको बताउने गरिएको छ। जसका कारण प्रहरीको कडा निगरानी हुने गरेको हो।
सन् २०१६ को मार्चमा पनि बेल्जियमको राजधानी ब्रसेल्समा रहेको एक रेल स्टेसन र अन्तर्राष्ट्रिय विमानस्थलमा विष्फोट हुँदा कम्तीमा पनि ३२ जनाको ज्यान गएको थियो। रासस/एपी