
काठमाडौं: अभिनेत्री नीशा अधिकारी र क्रिकेटर शरद भेषवाकरको विवाहले फिल्म क्षेत्र मिडियामा गसिपको राम्रो ठाउँ पाएको। ब्रेकअपको हल्ला बिच सार्वजनिक विवाहको कार्डले सबैलाई चकित तुल्यायो। शरद भेषवाकरको तर्फबाट सार्वजनिक कार्डमा प्रयोग रचनात्मक शैलीले सबैको ध्यान खिच्यो। नेपालका उत्कृष्ट क्रिकेटर मानिएका शरदले बिहेको कार्डमा पनि बल, ब्याट र स्टम्प छुटाएनन्। बिहेको कार्डको बाहिरी कभरमा एउटा ब्याट, बल र स्टम्प देखियो।
कस्तो होला निशाको तर्फबाट छापिएको कार्ड। धेरैको चासोको विषय बनेको थियो। फिल्मसँग सम्बन्धि कुनै चिह्न? वा अरु कुनै डिजाइन?
धेरैको अनुमान सही साबित भयो। कार्डमा लेखिएको सुरुवात कुनै फिल्मको प्रेस रिलिज जस्तो लाग्छ। लेखिएको छ: 'अ लभ स्टोरी स्टारिङ शरद एण्ड नीशा'। अझ रचानात्मक त के लाग्छ भने अमरपाली ब्याङ्क्वेटमा हुने रिसेप्सन पार्टीको निमन्त्रणामा मुभी क्यामेरा पनि अटाएको छ।
दुई फरक क्षेत्रमा आवद्द यी दुईले आ-आफ्नो क्षेत्रमा प्रयोग हुने सामानलाई महत्वका साथ कार्डमा ठाउँ दिएका छन्।
सन् २००८ मा मिस नेपाल सहभागी रहेकी नीशा अधिकारी त्यसअघि नै मिडियाकर्मीको रुपमा सक्रिय थिइन्। सन् २००५ मा उनले मिस इन्टरनेशल नामक सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी थिइन्। फिल्ममा भने उनले २००९ मा सार्वजनिक फिल्म मिसन पैसाबाट डेब्यु गरेकी थिइन्। अभिनयको हकमा सानो पर्दाको टेलिश्रृङ्खला घरबेटी बामा देखिइन्। फरक क्षेत्रहरुमा हात हालेर मल्टि पहिचान बनाउन लागि परेकी उनी सगरमाथा आरोहण गर्ने पहिलो अभिनेत्री बनिन्। नीशाले केही सांगीतिक टक शोहरु पनि प्रस्तुत गरिन्।
नीशाको रियल लाइफ 'झ्यानाकुटी' सँगै रिल लाइफ झ्यानाकुटी पनि सार्वजनिक हुँदैछ। उनको निर्माण रहेको फिल्मर झ्यानाकुटी भदौ ८ गते सार्वजनिक हुँदैछ।