
बुटवल : रुपन्देहीका सबै स्थानीय तहमा विहानैदेखि गणना सुरु भएको छ।
मतदान सकिएर मतपेटिका गणनास्थलमा सङ्कलन हुन बुधबार केही ढिलो भएका कारण सर्वदलीय सहमतिमा आज बिहानदेखि गणना सुरु गरिएको हो।
जिल्लाका सिद्धार्थनगर नगरपालिका, देवदह नगरपालिकालगायत केही गाउँपालिकामा भने रातिदेखि नै मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख हुमनाथ गौतमले जानकारी दिए।
लुम्बिनीः रुपन्देहीको सिद्धार्थनगर नगरपालिका र सम्मईमाई गाउँपालिकामा मतगणना सुरु भएको छ। सिद्धार्थनगर नगरपालिकामा गए राति १ बजेबाट मतगणना सुरु भएको हो।
सम्मइमाई गाउँपालिकामा अहिलेसम्म ९०० मत गणना भइसकेको निर्वाचन अधिकृत कमल पन्थीले जानकारी दिए।
उनका अनुसार ९०० मत गन्दा कांग्रेसले ३५२ सहित अग्रता लिएको छ । सिद्धार्थनगरमा पनि कांग्रेस अगाडि रहेको छ ।
खजुरा (बाँके): बाँकेको डुडुवा गाउँपालिका–१ को मतगणना अहिले भइरहेको छ । पछिल्लो ११५ को मतपरिणामअनुसार सङ्घीय समाजवादी फोरमले ४३, कांग्रेसले ३३, नेकपा माओवादी केन्द्र तीन, नेकपा एमाले एक र राप्रपाले दुई मत ल्याएको छ।
डुडुवा गाउँपालिकामा गएराति २ बजेदेखि मतगणना सुरु भएको हो।
रोल्पामा मतगणना सुरु
यसैबीच, रोल्पाका दश स्थानीय तहमध्ये हाल तीन स्थानीय तहको मतगणना सुरु गरिएको छ। जिल्लाका सुवर्णावती गाउँपालिका, सुकीदह गाउँपालिका र माडी गाउँपालिकाको मतगणना राति १ बजेदेखि सुरु गरिएको छ।
मतगणना गरिएका तीन स्थानीय तहमध्ये दुई स्थानमा नेपाली कांग्रेसले अग्रता लिएको छ भने एक स्थानमा नेकपा माओवादी केन्द्र अगाडि देखिएको छ। कांग्रेसले सुकीदह र सुवर्णावती गाउँपालिकामा अग्रता लिएको छ भने नेकपा माओवादी केन्द्र माडी गाउँपालिकामा अगाडि रहेको छ। मतगणना हुन बाँकी सबै स्थानीय तहको मतगणनाका लागि सर्वदलीय बैठक भइरहेको सम्बन्धित गाउँपालिकाका निर्वाचन अधिकृतले जानकारी दिएका छन्।
जिल्लामा ६९.१४ प्रतिशत मत खसेको थियो । जिल्लाको चर्चित थवाङ गाउँपालिकामा पनि तीनहजार ६८२ मत खसेको छ। सो गाउँपालिकामा पाँच हजार ८५३ मतदाता रहेका थिए ।
बाँकेमा मतगणना
यसैगरी, बाँकेमा मतगणना कार्य सुरु भएको छ। जिल्लाको दुरुवा गाउँपालिकामा आज बिहान २ बजेदेखि मतगणना सुरु भएको हो भने अन्य सातवटा स्थानीय तहमा बिहान ५ बजेदेखि मतगणना सुरु हुने भनिएपनि अहिलेसम्म सर्वपक्षीय बैठक बसिरहेको छ।
नेपालगन्ज उपमहानगरपालिकामा रहेका २३ वटा वडाको मतगणना नेपालगन्जस्थित भेरी प्राविधिक शिक्षालयमा हुने भएको छ। कोहलपुर नगरपालिकाको मतगणना १३ वटा वडाको पिपिरीस्थित कृषि विकास बैंकको तालि केन्द्रमा हुने भएको छ।
खजुरा गाउँपालिका र जानकारी गाउँपालिकाको मतगणना खजुरामा हुने भएको छ। राप्ती सोनारी गाउँपालिकाको मतगणना कचनापुरमा हुने भएको छ। रासस