
हङकङ : चिनियाँ राष्ट्रपति सि जिनपिङले हङकङ्लाई चीन सरकारले सधैँ सहयोग गर्ने बताएका छन्।
हङकङ् सहर बेलायतले चीनलाई हस्तान्तरण गरेको २० औँ वार्षिकोत्सव तथा यहाँको सरकारको पाँचौ बार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन हङकङ आइपुगेका सिले केन्द्र सरकारका हैसियतले चीनले आफ्नो विशेष प्रशासित क्षेत्र हङकङ्को विकास र यहाँका नागरिकको उन्नतिका लागि चीनले सधैं सहयोग गर्ने बताए।
चिनियाँ सरकारी समाचार समिति सिन्ह्वाले दिएको जानकारी अनुसार राष्ट्रपति सि बिहीबार बिहान हङकङ आइपुगेका हुन्।
उनी तीन दिनसम्म हङकङ्मा रहने कार्यक्रम छ। उनले हङकङ हस्तान्तरणको २० वर्षको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ।
हङकङ ओर्लिएपछि विमानस्थलमा हङकङका एक पत्रकारले सोधेको प्रश्नको जवाफमा सिले हङकङ सम्पन्न र समृद्ध हुने बताएका थिए। हङकङ्लाई सन् १९९७ देखि केन्द्रीय सरकारको रुपमा चीनले सहयोग गर्दै आएको छ।
उनी सन् २०१३ मा चीनको राष्ट्रपति भएपछिको यो पहिलो हङकङ भ्रमण हो। हङकङ्मा केही समययतादेखि स्वतन्त्रताको आन्दोलन सुरु भएको छ। आन्दोलनमा चीनले अंकुश लगाएको भनी व्यापक मात्रामा प्रचार भएको थियो। रासस/सिन्ह्वा/एएफपी