
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले राजस्व, ऋण, अनुदानबाट प्राप्त सहयोग अनुशासित रुपमा खर्च गराउन महालेखापरीक्षकको कार्यालयले कडा रुपमा काम गर्नुपर्ने बताएकी छन्।
महालेखा परीक्षकको कार्यालयको ५९औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले वित्तीय अनुशासनहीनतामा चुप लागेर बस्ने प्रवृत्ति अन्त्य गरिनुपर्ने बताइन्।
राष्ट्रपतिले भनिन्,‘प्रत्येक वर्ष बेरुजु कहालीलाग्दो रुपमा बढिरहेको छ, वित्तीय अनुशासन कायम गर्न बेरुजु छिटो फछ्र्योट हुनुपर्छ, आर्थिक अनियमितता र भ्रष्टाचारबाट मुक्त नभई देश समृद्ध हुँदैन, यसैले आर्थिक अनुशासन कायम गराउन कार्यालयको भूमिका महत्वपूर्ण हुन्छ।’
कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले करिब चार खर्ब बेरुजु फछ्र्योट गर्न तत्काल काम सुरु गर्ने प्रतिबद्धता जनाए।
महालेखा परीक्षक टङ्कमणि शर्माले कार्यालयको ५४औँ वार्षिक प्रतिवेदनमा तीन खर्ब ९६ अर्ब २५ करोड बेरुजु देखिएको जानकारी दिए। उनले भने,‘५४औँ प्रतिवेदनमा चार हजार ७८६ कार्यालयको लेखापरीक्षण गरिएको थियो, ५५औँ प्रतिवेदनका लागि पाँच हजार ५०० कार्यालयको लेखापरीक्षण गर्नुपर्नेछ।’
वर्षौंदेखिको बेरुजु फछ्र्योट गर्नु चुनौती बनेको कार्यालयले जनाएको छ। कार्यालयले यसवर्षदेखि सामाजिक लेखापरीक्षण र सामूहिक लेखापरीक्षणको अवधारणा पनि ल्याउने भएको छ।
अवसरमा पूर्वमहालेखा परीक्षक भानुप्रसाद आचार्यलाई सम्मान गरिएको थियो।
कार्यक्रममा यसवर्ष कार्यालयमा उत्कृष्ट कार्यसम्पादन गर्ने निर्देशक शिवराम गुरुङ, लेखा परीक्षकहरु सविना चित्रकार, कुमार चित्रकार, शिवहरि पोखरेल र मधुसूदन महत तथा सवारी चालक सूर्यबहादुर तामाङलाई पाँच हजार नगदसहित सम्मान गरिएको थियो।
विसं २०१६ असार १५ गते चन्द्रबहादुर थापालाई पहिलो महालेखा परीक्षक नियुक्त गरिएको सम्झनामा यस दिन कार्यालयको वार्षिकोत्सव मनाउने गरिएको छ। रासस