
नाइजेरिया : नाइजेरियाको शक्तिशाली आतङ्कवादी संगठन बोको हरामले दशजना नाइजेरियाली महिला प्रहरी अपहरण गरी बन्दी बनाएको छ।
उनीहरुले ती महिला प्रहरीलाई अपहरण गरी बन्दी बनाएको दाबी गरेका छन्। अपहरण सम्वन्धि जानकारीसहितको दृष्य उनीहरुले एक स्थानीय पत्रिकालाई उपलब्ध गराएका छन्।
उक्त पत्रिकाले बोको हरामले दिएको दृष्यकाबारेमा बिहीबार जानकारी गराएको बताइएको छ।
त्यस्तै, बोको हरामको एक अनलाइन भिडियो प्रसारणमा पनि दशजना महिला सुरक्षाकर्मीलाई गत हप्ता नाइजेरियाको उत्तरपूर्वी नगर बोर्नोबाट अपहरण गरिएको देखाइएको छ।
बोको हरामको यस दाबी सम्बन्धमा नाइजेरियाली अधिकारीहरुले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।
अबु बाकर सेकाउ नै बोको हरामको नेता रहेका सो समाचारमा दाबी गरिएको छ।
तर सन् २०१४ मा भएको मुठभेडमा सुरक्षाकर्मीको गोली प्रहारबाट उसको मृत्यु भैसकेको नाइजेरियाली सेनाले दाबी गर्दै आएको थियो।
नाइजेरियामा सन् २००९ देखि सुरु भएको हिंसात्मक विद्रोहमा परी २० हजार भन्दाबढी सर्वसाधारणको मृत्यु भएको छ।
सन् २०१४ को अप्रिलमा बोको हरामले उत्तरपूर्वी बोर्नो राज्यकै चिबोक इलाकाबासी एक समुदायका दुइसय भन्दाबढी छात्रालाई विद्यालयबाटै अपहरण गरी बेपत्ता पारेको थियो ।
नाइजेरियाली सुरक्षाकर्मीले ती अपहरित छात्रामध्ये हालसम्म एकसय छ जनालाई मात्र मुक्त गर्न सकेको छ।
बोको हरामका कम्तीमा एकहजार चारसय लडाकूलाई नियन्त्रणमा लिई नाइजेरियाको उत्तरपूर्वी इलाकामा बन्दी बनाएर राखिएको जनाइएको छ। रासस/सिन्ह्वा