काठमाडौँ : जनसङ्ख्या तथा वातावरण मन्त्रालयले चिरस्थायी जैविक प्रदूषक (पोलुट्यान्ट) रोक्न कार्ययोजना तयार गरेको छ।
मन्त्रालयले सन् २००१ मा भएको स्टकहोम महासन्धीले सूचीकृत गरेको जैविक प्रदूषक रोक्न कार्ययोजना तयार गरेको हो।
कार्ययोजनामा सुझाव लिन आज आयोजना गरिएको अन्तर मन्त्रालयस्तरीय कार्यशालामा राष्ट्रिय कार्यान्वयन योजनाका संयोजक डा भूपेन्द्र देवकोटाले नेपाल स्टकहोम सम्मेलनको पक्ष राष्ट्र भएकाले नेपालमा देखिएका जैविक प्रदूषक रोक्न आफूहरुले काम गरिरहेको जानकारी दिए।
उनले भने,‘विषादीलगायत चिरस्थायी जैविक प्रदूषकलाई वातावरमैत्री व्यवस्थापन गर्न आवश्यक कार्ययोजना बनाएका हौँ।’ उनले नेपालले क्लोरिनयुक्त विषादी, क्लोरिनयुक्त औद्योगिक रसायनलगायतका जैविक प्रदूषकलाई हटाइसकिएको बताए।
मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले छलफलमा आएका सुझावलाई समावेश गरेर अन्तिम कार्ययोजना तयार गरिने बताए। रासस