
काठमाडौं : थाइल्यान्डको राजधानी बैंककमा आयोजना हुने एसियन युथ बक्सिङ च्याम्पियनसिपमा नेपालबाट ३ खेलाडीले प्रतिस्पर्धा गर्दैछन्।
एसियन बक्सिङ कन्फिडेरेसनको आयोजनामा जुलाई १ देखि ८ तारिखसम्म सञ्चालन हुने च्याम्पियनसिपमा नेपालबाट निञ्मा ग्याल्जेन शेर्पा, सुरेन्द्र राई र विशाल श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन्।
च्याम्पियनसिपमा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय नेपाली टोली बिहीबार थाइल्यान्ड प्रस्थान गरेका छन्। यस्तै नेपाली टोलीको प्रशिक्षकहरु डम्बरबहादुर लिम्बू र दीपक महर्जन छन्। उनीहरु पनि बिहीबारै बैंकक प्रस्थान गरेका छन्।
१७–१८ वर्ष ननाघेका एसियाली राष्ट्रका युवा बक्सर सहभागी च्याम्पियनसिपमा नेपालबाट ५२ केजी तौल समूहमा निञ्मा ग्याल्जेन शेर्पा, ५६ केजीमा सुरेन्द्र राई र ७५ केजी तौल समूहमा विशाल श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन्।
थाइल्यान्ड प्रस्थान गरेको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य अर्जुनबहादुर केसी, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलले बिहीबारै बिदाइ गरेका थिए।