
अफगानिस्तानः अफगानिस्तानको उत्तरी भू–भागमा पर्ने बादख्शान प्रान्तमा तालिवान आतङ्ककारी समूहले दुई महिला प्रहरीको हत्या गरेका प्रहरी प्रवक्ता महफोजुल्लाह अकबरीले जानकारी दिएका छन्।
बादख्शान प्रान्तको आर्गो जिल्लामा अवस्थित स्पिल गुल गाउँमा आफ्ना परिवारसँग भेटघाट गर्न गइरहेका दुई महिला प्रहरीलाई बाटोमै तालिवान आतङ्ककारी समूहले गोली प्रहार गरी हत्या गरेको अकबरीले जानकारी दिएका हुन्।
सन् २००१ को अन्त्यमा शासन सत्ताबाट हटेका समयदेखि हालसम्म पनि महिला शिक्षाको विरोध गर्नुको साथै महिलालाई घरदेखि बाहिर जान दिन नहुने अभियानमा रहेका तालिवान आतङ्ककारीले महिलामाथि निकै थिचोमिचो गर्ने गरेका छन्।
यी प्रहरीको हत्याको बारेमा भने उनीहरुले हालसम्म कुनै टिप्पाणी गरेका छैनन्। प्रहरीले भने उनीहरुको हत्या तालिवानले नै गरेको दाबी गरेको छ ।
बादख्शान प्रान्तको प्रान्तीय राजधानी फैजाबाद अफगानिस्तानको राजधानी काबुलबाट ३१५ किलोमिटर उत्तरपूर्वमा रहेको छ।
सो इलाकमा केही बर्षयता तालिवान आतङ्ककारी समूहको बलियो प्रभाव रहेको छ। गतमहिना यसै स्थानमा भएको भिडन्तमा परी कैयौँ प्रहरीको ज्यान गएको थियो । रासस/सिन्ह्वा