काठमाडौं : यसअघि नै सेमिफाइनल पुगिसकेको नेपाल स्ट्रोमलाई पराजित गर्दै दुबई वारियर्सले एसियन क्लब प्रिमियर लिग (एसीपिएल) क्रिकेटको अन्तिम चारमा स्थान बनाएको छ।
बिहिबार भएको खेलमा दुबई वारियर्सले नेपला स्ट्रोमलाई ७ विकेटले हरायो। जितपछि ५ खेलबाट २ खेल जित्दै ४ अंक जोडेको वारियर्स शीर्ष चारमा पर्ने पक्का छ।
यसअघि नै ४ खेल जितेर ८ अंक जोडेको स्ट्रोम सेमिफाइनलमा छनोट भइसकेको छ। यस्तै ४ खेलबाट ६ अंक जोडेको बंगलादेश टाइगर्स पनि सेमिफाइनल पुगेको छ। अब शुक्रबार हुने बंगलादेश टाइगर्स र श्रीलंकन लायन्स बीचको खेलले बाँकी एक टोलीको टुङ्गो लाग्नेछ।
१ सय २४ रनको सामान्य लक्ष्य वारियर्सले १६.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। वारियर्सको जितमा दावद इजाजाले नटआउट रहदै ३७ बलमा ७७ रन बनाए। यस्तै कप्तान अबुदुल शाकुरले २० रन जोडे।
त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल स्ट्रोमले १९ ओभरमा १ सय २३ रनमा अलआउट भयो। अली मलिक र विजय यादवले घातक बलिङ गरेपछि स्ट्रोमका तीन खेलाडीबाहेक अन्यले दोहोरो अंक समेत छुन सकेनन्। स्ट्रोमका ओपनर गौरब बारबाडेले ३०, पवन चाडेलले २१ तथा दिशान्त यादवले १० रन बनाए।
बलिङमा वारियर्सका अली मलिकले ४ तथा विजय यादवले ३ विकेट लिए।