
अहमेदाबादः भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदीले गाई संरक्षणको नाममा जनता मार्ने कुनै पनि अवस्थामा स्वीकार गर्न नसकिने बताएका छन्।
प्रधानमन्त्री मोदीको यो अभिव्यक्ति गाई संरक्षणकर्मीद्वारा ‘गाउ भक्ति’ (गाई भक्ति) का नाममा भएका शृङ्खलाबद्ध आक्रमणमा भएका विरोध कार्यक्रमप्रति लक्षित गरी आएको हो।
सवरमती आश्रम स्थापनाको शतवार्षिकी तथा महात्मा गान्धीका गुरु श्रीमद् राजचन्द्रजीको १५० औँ जन्मोत्सवका अवसरमा बिहीबार गरिएको एक समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, ‘राष्ट्रपिता (गान्धी) को आदर्श विपरित भारतमा एक समुदायद्वारा अर्को माथि हिंसात्मक विरोध भएको छ । यस्ता गतिविधिले राष्ट्रपिता महात्मा गान्धी अपमान हुन्छ।’
राष्ट्र हित र कानुन विपरित काम गर्न राष्ट्रमा कसैलाई पनि अधिकार नभएको उनले बताए।
गत हप्ता मथुराका लागि हिँडेको एक मुसलमान यात्रीलाई रेलभित्र हत्या गरिएको र उनका परिवारजनलाई ‘अराष्ट्रवादी’ ‘गाई खौवा’ भनी गरिएको उत्तेजक घटनाविरुद्ध हजारौँ भारतीयले मुलुकका विभिन्न ठाउँमा प्रदर्शन भएपछि प्रधानमन्त्रीले सबैलाई संयमता अपनाउन आफ्नो सम्बोधनका क्रममा आग्रह गरे।
हिंसाले न कहिल्यै समस्या समाधान गरेको थियो । न गर्ने नै छ, समाजमा हिंसाका लागि कहिँ ठाउँ छैन, प्रधानमन्त्री मोदीले भने। रासस/पीटीआई