
काठमाडौँ: बुधबार सम्पन्न स्थानीय तह दोस्रो चरणको निर्वाचनको मतगणना जारी छ। अधिकांश स्थानीय तहमा मतगणना सुरु भएको छ। ताप्लेजुङ र संखुवासभाका केही स्थानको मतपेटिका संकलनमा ढिलाई भएका कारण मतगणना सुरु भएको छैन।
निर्वाचन स्थगित भएका दुई स्थानसहित २५ स्थानमा मतगणना सुरु भएको छैन। अन्य ३०७ स्थानीय तहमा भने मतगणना जारी छ।
मतगणना जारीसँगै ६ स्थानीय तहको मतपरिणाम आइसकेको छ। कांग्रेस बझाङको काँडा गाउँपालिकामा विजयी भएको छ। गाउँपालिका अध्यक्षमा राजेन्द्र धामी विजयी भएका छन्। यस्तै, उपाध्यक्षमा कल्पना बोहोरा विजयी भएकी छन्। यस्तै, संखुवासभाको चिलिला गाउँपालिका र सिलिङचोक गाउँपालिकामा कांग्रेस विजयी भएको छ। चिचिला गाउँपालिका अध्यक्षमा कांग्रेसका पासाङ नोर्वु शेर्पा र सिलिङचोकमा पनि कांग्रेसकै राम बहादुर राई विजयी भएका हुन्।
मतपरिणाम अनुसार दुई स्थानमा एमाले विजयी भएको छ। एमालेले बझाङको मस्टा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबैमा विजयी भएको छ। अध्यक्षमा कर्णबहादुर कठायत र उपाध्यक्षमा भगवती बोहोरा विजयी भएका छन्। यस्तै, एमालेले बाजुराको पाण्डवगुफा गाउँपालिकाका जित हासिल गरेको छ। एमालेका कालीबहादुर शाही गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन्। उपाध्यक्षमा ऐना गिरी निर्वाचित भएकी छन्।
यस्तै, माओवादी केन्द्रले एक स्थानमा जित हासिल गरेको छ। सोलुखुम्वुको लिखु पिके गाउँपालिका प्रमुखमा माओवादीका डम्वरबहादुर बस्नेत विजयी भएका छन्। उपप्रमुखका माओवादीकै शर्मिला बस्नेत विजयी भएकी छन्।
अन्य दलहरुले जितको खाता खोल्न सकेका छैनन्।