
विश्व विजेता जर्मनी र दक्षिण अमेरिकी च्याम्पियन चिली रसियामा भइरहेको कन्फेडेरेसन कपको उपाधिका लागि भिड्ने भएका छन्।
बिहिबार भएको दोस्रो सेमिफाइनलमा जर्मनीले मेक्सिकोलाई ४-१ ले हराउँदै पहिलो पटक फाइनल यात्रा तय गरेको हो।
यता चिली पोर्चुगललाई पराजित गर्दै फाइनल पुगेको हो।
महादेशिय च्याम्पियनहरुको च्याम्पियन बन्ने होडमा चिली र जर्मनी दुवै पहिलो पटक फाइनल पुगेका हुन्। र जसले उपाधि जितेपनि कन्फेडेरेसन कपले नयाँ विजेता पाउने निश्चित बनेको छ।
यसअघि समूह चरणमा पनि जर्मनी र चिली भिडेका थए। जसमा दुबैले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए। फाइनल खेल आइतबार राती हुनेछ। त्यसअघि बइतबारै पोर्चुगल र मेक्सिकोबीच तेस्रो स्थानको लागि खेल हुनेछ।
जर्मनीको जितमा लियोन गोरेज्काको २ गोल
लियोन गोरेज्काले दुई मिमनेटको अन्तरमा दुई गोल गरेपछि जर्मनीले ८ मिनेट भित्र नै मेक्सिको विरुद्ध २-० को अग्रता बनायो। उनले खेलको छैटौँ मिनेटमा पहिलो गोल गरे। त्यसको दुई मिनेटपछि नै गोल थपेका हुन्।
पहिलो हाफमा जर्मनीले २-० को अग्रता कायम राख्यो। ५९औं मिनेटमा टिमो वेर्नरले गोल गरेपछि जर्मनीले ३-० को अग्रता बनायो।
सन् १९९९ को कन्फेडेरेसन कप विजेता मेक्सिकोका लागि मार्को फावियनले ८९औं मिनेटमा गोल गरेपनि त्यो सान्त्वनामै सिमित भयो। खेलको अन्त्यतिर अमिन युनेसले गोल थपेपछि जर्मनीले ४-१ को जित हात पारेको हो।