
स्पेन र जर्मनी शनिबार पहिलो पटक यू-२१ युरो च्याम्पियनसिपको उपाधिका लागि भिड्दैछन्।
पोल्याण्ड भइरहेको यस संस्करणको प्रतियोगितामा जर्मनी इंगल्याण्डलाई पेनाल्टीसुटआउटमा र स्पेन इटलीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन्।
सेमिफाइनलबाटै घर फर्केको इटलीले अहिलेसम्म सर्वाधिक ५ पटक यू-२१ को उपाधि जितेको छ। यस पटक स्पेनलाई उक्त कीर्तिमान बराबरी गर्ने मौका छ र त्यसका लागि फाइनलमा जर्मनीको चुनौती पन्छाउनुपर्नेछ।
जर्मनी र स्पेनको यू-२१ टोली युरो फाइनलमा भिड्न लागको यो पहिलो पटक हो। सन् २००९ मा पहिलो पटक उपाधि जितेको जर्मनी स्पेनलाई हराउँदै दोस्रो पटक च्याम्पियन बन्ने दाउमा छ। त्यसबेला जर्मनीले इंगल्याण्डलाई फाइनलमा ४-० ले हराएको थियो।
त्यसपछि सन् २०११ र २०१३ मा लगातार स्पेनले उपाधि जितेको थियो।
२०११ मा हुँवा माटा तथा २०१३ मा अल्भारो मोराटा र थियागो अलकान्टारोले स्पेनका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए।
यसपटक पनि एथ्लेटिको मड्रिडबाट खेल्ने सउल निगेज रियल मड्रिडका मार्को असेन्सियो लगायत खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। निगेजले इटली विरुद्ध सेमिफाइनलमा ह्याट्रिकक समेत गरेका थिए।
यता जर्मनीको टिममा उत्कृष्ट युवा खेलाडीहरुको संयोजन छ। यस सिजन जर्मन च्याम्पियन वायर्न म्यूनिखमा अनुबन्ध भएको पूर्व आर्सनल स्टार सर्जी गनवरी, कप्तान म्याक्समिलियन अर्नोल्ड, म्याक्स मेयर, डेविड सेल्के लगायत अन्य युवा खेलाडीलेः राम्रो खेलिरहेका छन्।
स्पेनले १९९६ र १९९८ पनि उपाधि जितेको थियो। यसैगरी १९८४ र १९९६ को फाइनलमा भने स्पेन क्रमश: इंल्याण्ड र इटलीसँग पराजित भएको थियो।
यस पटक स्पेनका सउल निगेज ५ गोल गर्दै सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन्। यस्तै असेन्सिओले ३ गोल गरेका छन् भने जर्मनीका डेविड सेल्केले २ गोल गरेका छन्।
फाइनल खेल विवरण
स्पेन भर्सेस जर्मनी
मिति : १ जुलाई २०१७(१६ असार २०७४)
स्थान : स्टाडिओन क्राकोभिया, क्राकव
समय : नेपाली समय अनुसार राती १२:३० बजे