PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

रोल्पामा कांग्रेस ७, माओवादी केन्द्र १२ र एमाले १ वडामा विजयी



रासस

रोल्पामा कांग्रेस ७, माओवादी केन्द्र १२ र एमाले १ वडामा विजयी

रोल्पा : रोल्पामा हालसम्म २० वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ। मतपरिणाम सार्वजनिक गरिएका वडामा नेकपा माओवादीले अग्रता लिएको छ भने नेपाली कांग्रेसले माओवादी केन्द्रलाई पछ्याउँदै गएको छ। यसैगरी नेकपा एमाले तेस्रो स्थानमा देखिएको छ। 

घोषित परिणाम अनुसार कांग्रेस सातवटा वडा र नेकपा माओवादी केन्द्रले १२ वटा वडामा विजयी हासिल गरेको छ। नेकपा एमाले भने अहिलेसम्म एक वडामा मात्र सीमित रहेको छ।

जसअनुसार कांग्रेसले सुकीदह गाउँपालिका–१, रुन्टी गढी गाउँपालिका–२, ३ र ४, सुवर्णावती गाउँपालिका–१, लुङ्ग्री गाउँपालिका–१ र रोल्पा नगरपालिका–१० मा विजय हासिल गरेको छ । 

रोल्पा नगरपालिका–१० मा दुई मत हराएको भन्दै नेकपा माओवादी केन्द्रले पुनः मतदानको माग गरेको कारण परिणाम घोषणा गरिएको छैन।

सो वडामा नेकाका उम्मेदवार मानबहादुर खत्रीले ७०८ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रका मतिलाल डाँगीले ६२२ मत प्राप्त गरेका छन् । 

यसैगरी, नेकपा माओवादी केन्द्र विजयी भएका वडामा थवाङ गाउँपालिका–४ र ५, दुईखोली गाउँपालिका–१ र २, माडी गाउँपालिका–१ र २, रुन्टीगढी गाउँपालिका–१, सुकीदह गाउँपालिका–२, सुनछहरी गाउँपालिका–१, रोल्पा नगरपालिका–१, त्रिवेणी गाउँपालिका–१ र लुङ्ग्री गाउँपालिका–७ रहेका छन्। नेकपा एमालेले त्रिवेणी गाउँपालिका–२ मा विजय हासिल गरेको छ।  

एक नगरपालिका र नौ गाउँपालिका रहेको रोल्पामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच नै तीव्र प्रतिस्पर्धा रहेको छ । नेकपा एमाले जिल्लामा तेस्रो स्थानमा देखिएको छ। 

हाल सुवर्णावती, रुन्टीगढी र लुङ्ग्री गाउँपालिकामा कांग्रेस अगाडि छ भने रोल्पा नगरपालिका, थवाङ गाउँपालिका, सुनछहरी गाउँपालिका, दुईखोली गाउँपालिका र माडी गाउँपालिकामा नेकपा माओवादी केन्द्र अगाडि रहेको छ। 

नेकपा एमालेले सुकीदह गाउँपालिका र त्रिवेणी गाउँपालिकामा अग्रता लिएको छ। थवाङ गाउँपालिकामा नेका र स्वतन्त्र उम्मेदवारले तालमेल गरेका थिए भने माडी गाउँपालिकामा नेका र नेकपा एमालेले तालमेल गरेको भएपनि दुवै गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको बताइएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell