
विराटनगरः वडा नम्बर १ को मात्र मतगणना भइरहेको विराटनगर महानगरपालिकामा अब वडा नं. २ र ३ को पनि गणना सुरु गरिएको छ।
मतगणना ढिलो भइरहेको भन्दै सर्वत्र आलोचना भइरहेका बेला महानगरपालिकामा तीन ठाउँमा मतगणना सुरु गरिएको हो। अब मतगणना र परिणाम केही छिटो हुने अनुमान गरिएको छ ।
महानगरपालिकामा हालसम्म ४ सय ७१ मत गणना गरिएको छ । जसअनुसार मेयरमा नेपाली काङ्ग्रेसका भीम पराजुलीको २ सय १६, एमालेका विनोद ढकालको १ सय ५२ र सङ्घीय समाजवादी फोरमका उमेश यादवको ७६ मत छ।
त्यस्तै, उपमेयरमा कांग्रेसकी इन्दिरा कार्कीको १ सय ७१, नेपाल लोकतान्त्रिक फोरमकी सुची चौधरीको ८५ र माओवादी केन्द्रकी नमिता न्यौपानेको ७६ मत छ।
मोरङको पुरानो सदरमुकामका रूपमा चिनिने रङ्गेली नगरपालिकामा प्रमुखमा नेपाली काङ्ग्रेसका मोदराज घिमिरेले ६५३, माओवादी केन्द्रका दिलीप बगौडियाले ५०८ र एमालेका सन्तोषकुमार शाहले २६९ मत प्राप्त गरेका छन्।
त्यस्तै, रङ्गेलीमा उपप्रमुखमा कांग्रेसकी राधादेवी मण्डलले ५१३, माओवादी केन्द्रका केशवकुमारी खलालले ४३५ र एमालेका उषा झा ठाकुरले ३८५ मत प्राप्त गरेका छन् ।
वडा नं. १ र ९ को गरी रङ्गेलीमा १९६५ मत गणना गरिएको छ।मोरङको सुन्दर हरैँचा नगरपालिकामा प्रमुखमा एमालेका केदारप्रसाद गुरागाईं २ हजार २ सय ७८ मत प्राप्त गरी अग्रस्थानमा छन्।
उनलाई २ हजार २ सय ३५ मत प्राप्त गरी कांग्रेसका शिवप्रसाद ढकालले पछ्याइरहेका छन्। माओवादी केन्द्रकी लक्ष्मी न्यौपाने ३ सय ९५ मत प्राप्त गरी तेस्रो स्थानमा छिन्।
त्यस्तै उपप्रमुखमा एमालेका धनमायाँ तामाङले २२६८, कांग्रेसकी विन्दा दाहाल थापाले १४४५ र माओवादी केन्द्रका नवराज चापागाईंले १०६५ मत प्राप्त गरेका छन् ।