
हङकङ : एकजना चिनियाँ राजदूतले हङकङमा अहिलेकै जस्तो एक देश दुई व्यवस्था कायमै रहने जानकारी दिएका छन्।
भियतनामका लागि हङकङका राजदूत च्यो योङ्ले बिहीबार साँझ भियतनामको राजदूताबासमा अयोजना गरिएको स्वागत समारोहमा सो धारणा राखेका हुन्।
उनले भने– ‘हाल हङकङमा एक देश र दुई राजनीतिक व्यवस्थाको अवस्था छ, त्यो यहाँ आगामी दिनमा पनि निरन्तर नै रहने छ, यसैमा हङकङको आर्थिक तथा राष्ट्रिय विकास सम्भव छ।’
हङकङ सहर बेलायतले चीनलाई हस्तान्तरण गरेको २० औँ वार्षिकोत्सव तथा यहाँको सरकारको पाँचौ वार्षिकोत्सवका अवसरमा भियतनामको दूताबासमा यस्तो समारोहको आयोजना गरिएको हो।
सो अवसरमा हङकङमा पनि विशेष कार्यक्रमको आयोजना भएको छ । कार्यक्रममा सहभागिताका लागि चिनियाँ राष्ट्रपति सि चिनफिङ बिहीबार नै हङकङ पुगेका छन्।
राष्ट्रपति सिले विशेष प्रशासित क्षेत्र हङकङलाई चीन सरकारले सधैँ सहयोग गर्ने बताएका थिए। उनले पछिल्लो समयमा हङकङले एक राष्ट्र र दुई व्यवस्थामा आधारित नीतिका कारण देशको बिकास र प्रशासन सञ्चालनमा राम्रो गरेको बताएका थिए।रासस/सिन्ह्वा