काठमाडौँः उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले कतारका राजदूतसँग त्यहाँ कार्यरत नेपालीको सुरक्षाका सम्बन्धमा विशेष चासो व्यक्त गरेका छन्।
कतारका राजदूत अहमद जसिम मोहम्मद अली अल हमरसँग आज भएको भेटमा परराष्ट्रमन्त्री महराले नेपालीको सुरक्षाका बारेमा जानकारी लिएका हुन्।
आफ्ना नागरिकको सुरक्षाका सन्दर्भमा आफूले दैनिक सूचना लिइरहेको बताउँदै मन्त्री महराले नेपालीको सुरक्षाका विषयमा विशेष ध्यान दिन राजदूतसँग आग्रह गरे।
पछिल्लो समय कतारमा देखिएको कूटनीतिक समस्या वार्ता र संवादबाट सुल्झनुपर्नेमा जोड दिँदै महराले नेपालले शान्तिपूर्ण तवरबाट समस्याको समाधान होस् भन्ने चाहेको बताए। उनले आवश्यक परेमा नेपालले पनि शान्तिपूर्ण समाधानका लागि पहल गरिदिने विश्वास दिलाए।
मन्त्री महराले कतारका व्यवसायीले अन्य अरब मुलुकमा सञ्चालन गरेका कम्पनीमा कार्यरत नेपालीका सन्दर्भमा चासो व्यक्त गर्दै त्यसतर्फ कतारी राजदूतको ध्यानाकर्षण गराएका थिए।
जवाफमा कतारका राजदूत हमरले कतार र अरब राष्ट्रमा कतारका व्यवसायीले सञ्चालन गरेका कम्पनीमा कार्यरत नेपालीको सुरक्षामा आफ्नो सरकारले पूर्ण ध्यान दिने बताए।
उनले अरब मुलुकमा देखिएको कूटनीतिक समस्याका कारण नेपालीको सुरक्षामा कुनै समस्या नभएको स्पष्ट गर्दै आगामी दिनमा दुई देशबीच रहिआएको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे।रासस