PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

प्रधानमन्त्रीले भोट हालेको डडेलधुराको गन्यापधुरामा कांग्रेसको जित



पहिलोपोस्ट

प्रधानमन्त्रीले भोट हालेको डडेलधुराको गन्यापधुरामा कांग्रेसको जित

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले भोट हालेको डडेलधुराको गन्यापधुरा गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। गन्यापधुरामा कांग्रेसका नवलबहादुर मल्ल निर्वाचित भएका हुन्।

प्रधानमन्त्री देउवा जन्मिएको र उनले भोट खसालेको स्थान आसिग्राम गन्यापधुरा गाउँपालिकको वडा नम्बर एकमा पर्छ। 

गन्यापधुराको अध्यक्षमा निर्वाचित मल्लसँगै उनकै प्यानलकी नेपाली कांग्रेसकी उम्मेदवार कमला ठगुन्ना निर्वाचित भएकी छन्। 

प्रमुखमा निर्वाचित मल्लले ३३ सय ६९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका वीरेन्द्र मल्लले १९४६ मत पाएका छन्। 

यस्तै उपप्रमुखमा निर्वाचित कांग्रेसकी ठगुन्नाले ३४ सय ७ मत ल्याएकी छन् भने उनकी प्रतिद्वन्द्वी एमाले उम्मेदवार कृष्णादेवी पनेरुले १८ सय ७३ मत पाएकी छन्। 

यसैगरी प्रधानमन्त्रीको गृहजिल्लाका भागेश्वर र आलिताल गाउँपालिकामा पनि कांग्रेसकै प्यानल विजयी भएको छ। भागेश्वर गाउँपालिकाको अध्यक्षमा कांग्रेसकातर्फबाट नेपाल विद्यार्थी संघकी नेतृ कौशिल्या भट्ट विजयी भएकी छन्। उनी २००७ मत प्राप्त गरी अध्यक्ष पदमा निर्वाचित भएकी हुन्।

काठमाडौंको पद्मकन्या क्याम्पसको राजनीतिमा सक्रिय भट्ट डडेल्धुरा कांग्रेसका पूर्वसभापति रघु भट्टकी छोरी हुन्।

डडेल्धुराकै अर्को गाउँपालिका आलितालको अध्यक्षमा कांग्रेसकै बलबहादुर गुरुङ विजयी भएका छन्। प्रमुखमा निर्वाचित गुरुङले २२६१ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका तुलराम बोहराले २०९८ मत पाएका छन्।

उपप्रमुखमा कांग्रेसकै ज्वाला देवी विष्ट बोगटी निर्वाचित भएकी छन्। उनले २२४२ मत पाएकी छन् भने निकटतम प्रतिद्वन्द्वी एमालेकी हरीनादेवी बोगटीले १९९४ मत प्राप्त गरिन्।

यससँगै आठ स्थानीय तह रहेको डडेलधुरामा कांग्रेसले तीन स्थानमा जित हाँसिल गरेको छ। सदरमुकाम अमरगढी नगरपालिकामा भने एमालेका विपिन ओझा निर्वाचित भएका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell