PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

विराटनगर महानगरपालिकामा काँग्रेसको अग्रता



अनन्तराज न्यौपाने

विराटनगर महानगरपालिकामा काँग्रेसको अग्रता

विराटनगर : दोस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत रहेको एक मात्र महानगर विराटनगर महानगरपालिकामा नेपाली काङग्रेसले अग्रता कायमै राखेको छ। अन्य ८ नगरपालिकामध्ये ४ मा एमाले र ४ मा नेकाले अग्रता कायम गरेका छन्।

महानगरको पछिल्लो परिणामअनुसार प्रमुख पदमा नेकाका भीम पराजुलीले ६ सय ३४ मत प्राप्त गरेका गरेका छन् भने एमालेका विनोद ढकालले ४ सय ४१ मत प्राप्त गरेका छन्।

विराटनगरमा बिहिबार साँझदेखि ८ स्थानमा मत गणना सुरु गरिएको हो। हाल वडा नं. १, २, ३, ४, १६, १७, १८ र १९ गरी ८ वडाको को मतगणना भइरहेको छ।

एमालेले अग्रता हासिल गरेका नगरपालिकामा पथरीशनिश्चरे, बेलबारी, लेटाङ र उर्लाबारी छन्। पथरीशनिश्चरेमा २ हजार ६ सय २९ मत गणना गर्दा मेयर पदमा एमालेका किशोर राईले १ हजार २ सय २ र नेकाका गणेश खड्काले १ हजार २५ मत प्राप्त गरेका छन्।

बेलबारी नपाको प्रमुख पदका एमालेका ज्ञानेन्द्र सुवेदीले १ हजार १ सय २ र नेकाका राजकुमार लिम्बूले १ हजार २९ मत प्राप्त गरेका छन्।

त्यस्तै लेटाङ नगरपालिकामा प्रमुखमा एमालेका भूपेन्द्र लावतीले १ हजार २२ र नेकाका शङ्कर राईले ८ सय ४४ मत प्राप्त गरेका छन्।

उर्लाबारी नगरपालिकाको प्रमुख पदमा एमालेका भूपालमानसिंह राईले ९ सय ३९ र नेकाका खड्ग फागोले ७ सय ३९ मत ल्याएका छन्।

नेपाली काँग्रेसले रङ्गेली, सुनबर्सी, रतुवामाई र सुन्दरहरैँचा नगरपालिकामा अगाडि देखिएको छ।

रङ्गेलीको पछिल्लो परिणामअनुसार नेकाका मोदराज घिमिरेले ८ सय ५१  र एमाओवादीका  दिलीप अग्रवालले ७ सय ६ मत प्राप्त गरेका छन्।

त्यस्तै सुनबर्सी नगरपालिकामा नेकाका कालीप्रसाद दासले १ हजार १७ र एमालेका मोहम्मद हसन इमामले ८ सय ८ मत प्राप्त गरेका छन्।

रतुवामाई नगरपालिकामा नेकाका रबिन राईले २ हजार १ सय ३५ र एमालेका टेकेन्द्र पोमुले १ हजार ९ सय ६४ मत ल्याएको छ।

सुन्दरहरैँचा नगरपालिकामा नेकाका शिवप्रसाद ढकालले ३ हजार ६ सय ६८ र एमालेका केदार गुरागाईंले ३ हजार ५ सय ९७ मत हासिल गरेका छन्।

 

बदर मत सङ्ख्या बढी

महानगरपालिकामा मत बदर सङ्ख्या २५ प्रतिशतभन्दा बढी पाइएको छ। विराटनगरका दक्षिण क्षेत्रका १५ देखि १८ नम्बरका वडामा बढी मत बदर देखिएका हुन्।

चार वडामा ३ सय २० मत गणना गर्दा ८२ मत बदर पाइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell