
सोलोमन मिरेले करियरकै पहिलो वान डे शतक प्रहार गरेपछि जिम्वावेले फस्ट वान डे क्रिकेटमा श्रीलंकालाई उसैको भूमिमा ६ विकेटले पराजित गरेको छ। ३ सय १७ रनको लक्ष्य पाहुना टोली जिम्वावेले १४ बल अगावै ४ विकेट गुमाएर पूरा गर्यो।
श्रीलंकन भूमिमा जिम्वावेले श्रीलंकालाई हराएको यो कुनै पनि फर्म्याटमा पहिलो हो। यस्तै श्रीलंकामा भएको वान डे क्रिकेटमा ३ सय भन्दा माथिको रन पछ्याउँदै जित हात पार्ने पनि जिम्वावे नै पहिलो टिम बनेको छ।
जितपछि जिम्वावेले ५ खेलको सिरिजमा १-० को अग्रता समेत बनाएको छ। जिम्वावेलाई शानदार जित दिलाउन सोलोमन मिरले १ सय १४ रन बनाए भने सिन विलियम्स सिकन्दर राजाले अर्धशतक प्रहार गरे।
गाल्लेमा घरेलु टोली श्रीलंकाले टस जितेर पहिले ब्याटिङ गर्दै ५ विकेट गुमाएर ३ सय १६ रन बनाएको थियो। श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक ८० रन बनाए भने उपुल थरंगाल ७९ रनमा नटआउट रहे। दुबै खेलाडीले समान ८ चौका र एक छक्का प्रहार गरे।
यस्तै धनुसा गुनतिलकाले ६० तथा कप्तान एन्जेलो म्याथ्युजले ४० रन बनाए। जिम्वावेका टेन्डाई चटाराले २ विकेट लिए।
जवाफमा मिरेले शतक बनाएपछि जिम्मवाले शानदार जित हात पारेको हो। बलिङमा १ विकेट समेत लिएका मिरेले ९६ बल खेल्दै १४ चौकाको मद्दतमा १ सय १४ रन बनाए। उनले तेस्रो विकेटका लागि सिन विलयम्ससँग १ सय ६१ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए। विलियम्सले ६५ रनको योगदान गरे।
त्यसपछि क्रिजमा पुगेका सिकन्दर राजा र माल्कोम वालरले शतकिय साझेदारी गर्दै जिम्वावेलाई जित दिलाए। राजाले ५६ बल खेल्दै ७ चौका र १ छक्काको मद्दतमा नटआउट ६७ रन बनाए। यस्तै वालरले नटआउट ४० रन जोडे। श्रीलंकाका असेला गुनरात्नेले २ विकेट लिए।
श्रीलंका र जिम्वावेबीचको सेकेण्ड वान डे आगामी आइतबार गाल्लेमै हुनेछ।