
काठमाडौं : अन्नपूर्ण पोस्ट इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टनको चौथो संस्करण शनिबारदेखि काठमाडौंमा सुरु हुँदैछ। प्रतियोगिता हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा रहेको कभर्डहलमा असार १७ देखि २१ गतेसम्म सञ्चालन हुनेछ।
तेस्रो संस्करणसम्म राष्ट्रिय स्तरमा सञ्चालित अन्नपूर्ण पोस्ट कर्पोरेट ब्याडमिन्टनले यसपटकदेखि अन्तर्राष्ट्रिय स्तरमा हुन लागेको हो। प्रतियोगितामा नेपालसँगै भारत, पाकिस्तान, श्रीलंका र भुटान गरी पाँच राष्ट्रका स्तरीय खेलाडीको सहभागिता रहनेछ।
अन्नपूर्ण मिडिया नेटवर्कले आयोजना गर्ने प्रतियोगितालाई नेपाल ब्याडमिन्टन संघले प्राविधिक सहयोग गरेको छ। नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले चौथो संस्करण विगतको तुलनामा अझ भब्य रुपमा सम्पन्न हुने धारणा व्यक्त गरे। ‘विभिन्न देशका खेलाडी नेपालमा आएर खेल्दा हाम्रो देशको सांस्कृतिक आदानप्रदानसँगै अन्तर्राष्ट्रिय भाइचाराको सम्बन्ध पनि बढ्नेछ। नेपालका विभिन्न क्षेत्रबाट छनोट भएका खेलाडीले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता खेल्न पाउनु आफैंमा महत्वपूर्ण उपलब्धि हुनेछ’, श्रेष्ठले भने।
पाँच दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको अन्नपूर्ण मिडिया नेटवर्कका ब्रान्ड म्यानेजर श्याम मालीले जानकारी दिए। ‘प्रतियोगितालाई विगतको तुलनामा सहभागिता र स्वरूपका दृष्टिले अझ बृहत् बनाइएको छ। यसपटकदेखि प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्वरूप प्रदान गरेका छौं’, मालीले भने, ‘प्रतियोगितामा विदेशी खेलाडीसँग देशभरबाट छनोट भएर आएका विजेता र उपविजेता खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।’
यसअघि धनगढीमा वैशाख ९ देखि ११ गतेसम्म, नेपालगन्ज र बुटवलमा वैशाख १७ देखि १९ गतेसम्म, पोखरामा वैशाख २१ देखि २३ गतेसम्म तथा इटहरीमा वैशाख २६ देखि २८ गतेसम्म खेलाडी छनोट प्रतियोगिता सम्पन्न भएको थियो। ती क्षेत्रबाट छनोट भएका विजेता र उपविजेता खेलाडीले अन्तिम चरणको प्रतियोगितामा पुरुष एकल खुला, महिला एकल खुला र पुरुष डबल्स खुला स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्। यी स्पर्धामा वरीयता प्राप्त चर्चित राष्ट्रिय खेलाडीले समेत प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा पुरुष एकल खुला, महिला एकल खुला, पुरुष डबल्स खुला, कर्पोरेट डबल्स, पुरुष एक्जुकेटिभ एकल र एक्जुकेटिभ डबल्स गरी ६ वटा स्पर्धा समावेश गरिएको छ।
कर्पोरेट डबल्सतर्फ विभिन्न कर्पोरेट हाउसका म्यानेजर तहका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। एक्जुकेटिभ डबल्समा म्यानेजरभन्दा मुनिका खेलाडीको सहभागिता रहनेछ। प्रत्येक विधाको विजेतालाई दुई तोला, उपविजेतालाई एक तोला र तेस्रो हुने खेलाडीलाई आधा तोला सुनको पदक प्रदान गरिनेछ।