
काठमाडौँ : नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय क्षेत्रले कार्यक्षमता र पारदर्शिता बढाउनुपर्ने बताएका छन्।
कुमारी बैंक लिमिटेडको एकीकृत कारोबार शुभारम्भ गर्दै गभर्नर नेपालले स्थानीय तहको निर्वाचनपछि ठूलो आर्थिक क्रियाकलाप स्थानीय तहमा हुने र त्यहाँ पुँजी आवश्यक पर्ने हुँदा बैंकहरु चाडो स्थानीय तह (गाउँसम्म) पुग्नु आवश्यक भएको बताए।
गभर्नर नेपालले भने,“बैंक र वित्तीय संस्थाको क्षमता अभिवृद्धि गरी आर्थिक क्रियाकलाप हुने स्थानीय तह गाउँसम्म विस्तार गरी दक्ष जनशक्ति र कुशल व्यवस्थापन जरुरी छ।”
नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बैंकको एकीकृत कारोबार गर्ने नीतिअनुरुप बैंकको पूँजी झन्डै चार गुणाले बढेको र यसले एकीकृत कारोबार गर्न उत्साह प्रदान गरेको बताए।
बैंकर्स सङ्घका अध्यक्ष अनिलकेशरी शाहले बैंक तथा वित्तीय सुधारका लागि एकीकृत कारोबारलाई थप व्यवस्थित र पारदर्शी बनाइनुपर्ने बताए।
कुमारी बैंकका सञ्चालक डा शोभाकान्त ढकालले आफूहरुले राष्ट्र बैंकको नीतिअनुरुप पुँजी वृद्धि गरी आगामी कार्ययोजना तयार पारेको र अहिले बैंकको निक्षेप पुँजी जम्मा ५२ अर्ब र कर्जा ४५ अर्ब रहेको जानकारी दिए।
यसैबीच कुमारी बैंकले राष्ट्र बैंकको नीति (आठ अर्ब चुक्ता पुँजी) अनुरुप शुक्रबारदेखि एकीकृत कारोबार सुरु गरेको जनाएको छ।
बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स कम्पनीलाई (प्राप्ति) एकीकृत गरी कारोबार सुरु गरेको हो।
कुमारी बैंकमा तीनवटा बैंक तथा वित्तीय संस्था एकीकृत भएपछि ७५४ कर्मचारी र ७४ वटा शाखा पुगेको बैंकले जनाएको छ।
राष्ट्र बैंकको नीति अनुसार २०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकको आठ अर्ब, विकास बैंकको दुई अर्ब ५० करोड चुक्ता पुँजी पुर्याउनुपर्नेछ । रासस