
काठमाडौँ: स्थानीय तह दोस्रो चरणको जारी मतगणनामा थरीथरीका मतपरिणाम आइरहेका छन्। मतपरिणाम रोचक पनि छन्। मतपरिणाम अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्ला डडेलधुराको अमरगढी नगरपालिका एमालेले जितेको छ।
पूर्व सञ्चारमन्त्री तथा एमाले सांसद् शेरधन राईको गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ। शेरधनको आम्चोक गाउँपालिकामा माओवादीका अशोक राई विजयी भएका छन्।
मत बराबर भएपछि रोल्पाको दुईखोली गाउँपालिका ३ मा गोलाप्रथाबाट पनि विजयी चयन गरिएको छ। कांग्रेस उम्मेदवार भीमबहादुर केसी र माओवादीका झपिराम डाँगीको मत बराबर भएपछि गरिएको गोलाप्रथामा डाँगी विजयी भएका छन्।
यस्तै, रुकुमको सिस्ने गाउँपालिका ६ मा माओवादी केन्द्रका उम्मेद्वार सुधन रेग्मी एक मतले विजयी भएका छन्। उनले कांग्रेस एमाले गठबन्धनका उम्मेदवारलाई पराजित गरेका हुन्।
इलामको सन्दकपुर गाउँपालिका १ मा सासू–बुहारीको चुनावी प्रतिस्पर्धामा सासूले बाजी मारेकी छन्। एमालेबाट उम्मेदवार बनेकी सासू दिलमाया कमिनीले माओवादीबाट उम्मेदवार बनेकी बुहारी सीतादेवी विश्वकर्मालाई पराजित गरिन। दुवै दलित सदस्यमा प्रतिस्पर्धा गरेका थिए।
धनकुटमा ज्वाइँले जेठानलाई पराजित गरेका छन्। जोरपाटी गाउँपालिका २ को वडाध्यक्षमा माओवादी केन्द्रका कृष्णकुमार मगरले एमालेका उम्मेदवार इन्द्रबहादुर सारुमगरलाई १ मतले पराजित गरेका हुन्। नातामा उनीहरु ज्वाइँ–जेठान हुन्। कृष्णकुमार ज्वाइँ हुने भने इन्द्रबहादुर जेठान हुन्। दुवैलाई एक भोट निर्णयक बन्यो।