
काठमाडौं : दक्षिण कोरियामा हुने छुनछुन कोरिया ओपन तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ५ खेलाडीसहित ६ सदस्यीय नेपाली तेक्वान्दो टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पाँच खेलाडी र एक प्रशिक्षकलाई नेपाल तेक्वान्दो संघका उपाध्यक्ष एवम् डिआइजी पकंज श्रेष्ठ, संघका महासचिव दिपराज गुरुङ, तेक्वान्दो राष्ट्रिय टिमका संयोजक हेमन्त डाँगी र पारा तेक्वान्दो प्रशिक्षक कल्याण कुँवर लगायतले बिदाइ गरे।
प्रतियोगिता जुलाई ७ देखि १५ सम्म हुनेछ।
उक्त च्याम्पियनसिपमा नेपालको तर्फबाट फाइटमा सुमित्रा केसीले ७३ केजी, सन्ध्या कुमारी सिंहले ६२ केजी र निरिता याकथुम्बाले ५७ केजीमा प्रतिस्पर्धा गर्दैछन्। यस्तै रेजीन रिमाल र निता गुरुङले पुम्सेतर्फ प्रतिस्पर्धा गर्नेछन्।
संघका उपाध्यक्ष श्रेष्ठले देशको ऐतिहासिक सफलता बोकेको तेक्वान्दोको साख जोगाउने गरी प्रदर्शन गर्न शुभकामना दिए। उनले जित हार भन्दा पनि आफुले थप के ज्ञान सिक्न सफल भयौँ भन्ने पक्षलाई मध्यनजर गर्न सुझाव दिए।