PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

सुरुवाती मत परिणामले के गर्छ संकेत? 



सूर्य खड्का

सुरुवाती मत परिणामले के गर्छ संकेत? 

स्थानीय तह दोस्रो चरणको चुनावी मतपरिणाम आउने क्रम निरन्तर रहँदा मध्य असारमा पानी नपरेर रोपाइँ नभए पनि राजनीतिक रस्साकस्सीको मेलो भने चलिरहेको छ। पहिलो चरणभन्दा छिटो मतगणना भइरहेको छ भने मतपेटिका सुरक्षामा अपनाइएको सर्तकताले यसमा गति थपेको छ।  अपेक्षाकृत पहिलो चरणभन्दा व्यवस्थित र छिटो मतगणनाले चुनावी परिणामप्रति धेरैको ध्यान तानिएको पनि छ। 
सुरुवाती मतपरिणाममा मुख्य दल नेपाली कांग्रेस र नेकपा एमाले बीचको कडा टक्कर देखिँदा पहिलो चरणको चुनावकै ट्र्याकमा मत परिणाम गइरहेको देखिन्छ। तेस्रो हैसियतमा माओवादी केन्द्रकै बर्चस्व रहने निश्चित भइसकेको छ। राप्रपा, संघीय समाजवादी, नेपाल लोकतान्त्रिक फोरम, जनमोर्चा र नयाँ शक्ति जस्ता साना दल पनि दोस्रो चरणको चुनावी नतिजामा शून्य बिजयको खतराबाट मुक्त हुने संकेत देखिएको छ।

अपेक्षाकृत चाडै मतपरिणाम 

पहिलो चरणको स्थानीय निर्वाचन ३१ वैशाखमा मतदान जति सहज र सिघ्र भएको थियो, मत गणना उति नै ढिलो र पट्यारलाग्दो भइरहेको थियो। तर, असार १४ को खेतीपाती सिजनको माझ सम्पन्न भएको दोस्रो चरणको मतदानकै भोलिपल्टबाट मतगणना सुरु हुन थाल्यो। मतदानको लगत्तै सुरु मतगणनाले परिणाम जुन दलका पक्षमा दिए पनि मतदाताले पट्यारलाग्दो परिणाम प्रतिक्षाबाट अपेक्षाकृत कम प्रताडित हुनु परेको छ। दोस्रो चरणमा निर्वाचन आयोगले मतगणनामा गरेको सुधारको एक नमुना पनि हो। 

मतदानको तेस्रो दिन शुक्रवारसम्म आइपुग्दा प्रदेश १, ५ र ७ का प्रायः सबै मतदान केन्द्रका मतपेटिकाहरु संकलन गरी मतगणना कार्य अघि बढिरहेको छ। चुनावले भोलिपल्टबाटै विजय पराजयको परिणाम आइरहेको छ।

साथै, मतगणनास्थलमा राजनीतिक दलका प्रतिनिधिहरु रहेर पनि उनीहरुलाई मतपत्रको पहुँचबाट टाढा राख्ने निर्वाचन आयोगको नयाँ कदमले मतगणनामा चितवनको भरतपुरमा जस्तो मतपत्र च्यातिने खतरालाई रोक्न खोजेको छ। पहिलो चरणको तुलनामा मतगणनामा विवादका घटना पनि कम देखिएकाले मतगणनामा सावधानी र सुधार भएको हो कि भन्ने पनि देखिएको छ। 

कांग्रेस एमालेकै निरन्तरता

पहिलो चरणको चुनावको नतिजा ढिलो आए पनि मुख्य प्रतिस्पर्धा संसदका दुई ठूला दल कांग्रेस र एमाले बीच भएको थियो। अन्तिम चुनावी परिणाममा मुख्य विपक्षी एमालेले मुख्य सत्तारुढ दल कांग्रेसलाई उछिनेको थियो। पहिलो चरणका प्रारम्भिक मत परिणाममा पनि मुख्य टक्कर कांग्रेस र एमाले बीचमा नै देखिएको छ। 

एमालेले लिएको प्रारम्भिक अग्रता सत्तारुढ कांग्रेसको बहुमत ल्याउनैपर्ने दबाबसामु सशक्त चुनौतीका रुपमा देखिएको छ। एमालेले प्रारम्भिक मतपरिणामको गतिलाई निरन्तरता दिन सके उसले दोस्रो चरणमा पनि सहज अग्रता सहित पहिलो हुने छनक देखाएको छ। तर, अन्तिम चुनावी परिणाम नआउँदासम्म एमाले पनि पहिलो हुन्छ नै भन्ने ग्यारेन्टी भने गरिहाल्ने स्थिति छैन। 

पहिलो चरणमा २८३ स्थानीय निकाय मध्ये एमालेले १ सय २५ स्थानमा जितेकाले उसले प्रारम्भिक मतपरिणाममा त्यही अग्रतालाई कायम राख्ने प्रयास गरेको छ। दोस्रो चरणको निर्वाचनबाट ३३४ स्थानीय तहमा १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित गरिरहँदा एमालेले कांग्रेससँग लिएको बराबरीसहितको अग्रता जोगाउन सके मात्रै पनि उसको समग्रमा अग्रता र पहिलो स्थान कायम हुन सक्ने देखिएको छ। 

दोस्रो चरणमा अपेक्षाकृत बढी स्थानमा विजय हासिल गर्ने अपेक्षा गरिएको सत्तारुढ दल कांग्रेसले एमालेलाई टक्कर दिएर अग्रस्थानमा उत्रने सम्भावना मरिसकेको छैन। एमाले हाराहारीको अग्रताले उनीहरु बीचको कडा प्रतिष्पर्धालाई इंगित गरिरहेको छ। 

कांग्रेसले एमालेलाई पछि पार्नकै लागि करीब तीन दर्जन स्थानीय तहमा अग्रता हासिल गर्न नसके उसले दोस्रो चरणमा पनि एमालेलाई पछयाउँदै दोस्रो सीमित हुनुपर्ने देखिएको छ। पहिलो चरणमा कांग्रेसले १०३ स्थानमा विजय हासिल गर्दा एमालेले १२५ स्थानमा जितेकाले यो चरणमा कांग्रेसले ३३४ मध्ये कम्तीमा १ सय ३४ स्थानीय तहमा एकल विजय हासिल गर्न अनिवार्य जस्तै देखिएको छ। त्यति भएमा उसले एमालेलाई पछि पारेर दोस्रो चरणमा पहिलो दल बन्ने छ। कांग्रेसले र एमालेले लिएको प्रारम्भिक अग्रताले उनीहरु बीचको कडा टक्करको संकेत गरेको छ।

माओवादी तेस्राको तेस्रै

उता संसदमा तेस्रो र पहिलो चरणको स्थानीय तहको चुनावी नतिजामा पनि ४६ स्थानको विजय सहित तेस्रो नै रहेको दोस्रो सत्ताघटक दल माओवादी केन्द्रले दोस्रो चरणको चुनावको प्रारम्भिक मतपरिणाममा पनि तेस्रै दलका रुपमा उदाउने संकेत गरेको छ। उसले ४० बढी स्थानमा लिएको अग्रता र एमालेले ९ तथा कांग्रेसले ७ स्थानीय तहमा जित्दा जितेका २ स्थानको सुरुवाती मत परिणामले कांग्रेस एमालेको तुलनामा माओवादी केन्द्र धेरै कम संख्यामा तेस्रो हुने संकेत देखाएको छ। उसले अन्य साना दलहरुको तुलनामा मात्रै बढी र स्थान जित्ने मतपरिणामको सु्रुवाती नतिजाले देखाएको छ।

प्रधानमन्त्रीको गृहनगरमा लाल झण्डा

मतदानको ५ दिन अघिदेखि सिंहदरबारको शासकीय कुर्सी छोडेर गृहनगरमा चुनावी गतिविधिमा व्यस्त रहेका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई आफ्नै गृह जिल्लाको चुनावी परिणामले झस्काएको छ। देउवाको गृह नगर डडेल्धुराको अमरगढी नगरपालिकामै एमालेले विजय हात पारेर प्रधानमन्त्रीको गृहक्षेत्रमा फहराएको लालझण्डा सभापति तथा प्रधानमन्त्री देउवाका लागि अंगुर अमिलो भन्ने कथा जस्तै दुखद सुस्केरा बनेको छ। 

अमरगढी नगरपालिकाको मेयरमा एमालेका विश्वेश्वरप्रसाद ओझा विजयी भएका भने उपमेयरमा पनि एमालेकै संगीता भण्डारी विजयी भइन। दोस्रो चरणमा चुनाव भएका १११ नगरपालिकामध्ये एमालेले अमरगढी जितेर नगरपालिकातर्फ विजयी शुरुवात गर्यो त्यो पनि प्रधानमन्त्रीको गृहनगरबाट। 

जहाँ चित्रबहादुर केसीको गिलास भरियो...

संघीयता विरोधी नेताका रुपमा चर्चित जनमोर्चाका सदावहार अध्यक्ष चित्रबहादुर केसीको गृह जिल्ला प्यूठानको सुरुवाती चुनावी नतिजाले जनमोर्चाको गिलास चिन्ह पनि जनताको मतले भरिएको संकेत देखाएको छ। दोश्रो चरणको निर्वाचन अन्तर्गत ५ नं. प्रदेशको पहाडी जिल्ला प्युठानमा मत गणनाको नतिजा आउने क्रममा जनमोर्चालाई शुभ संकेत मिलेको हो। 

शुक्रवार बिहानसम्म १७ वटा वडाको नतिजा सार्वजनिक हुँदा राष्ट्रिय जनमोर्चाले ४ वडामा विजय हासिल गरेको छ। उसका लागि यो मतदाताले केसीको विचारप्रति देखाएको हरियो झण्डा नै भएको छ। पहिलो चरणमा ४, राष्ट्रिय जनमोर्चा प्रदेश ३, ४ र ६ मा कही पनि विजयी भएको थिएन। 

२ नगरपालिका सहित ९ स्थानीय तह रहेको प्यूठानमा ६४ वटा वडा रहेका प्यूठान नेता केसीको मुख्य प्रभाव क्षेत्र पनि हो। यद्यपि एमालेले ७ माओवादी केन्द्रले ४, राष्ट्रिय जनमोर्चा ४ र नेपाली कांग्रेसले २ वडामा जित हासिल गरेर ४, राष्ट्रिय जनमोर्चाको जिल्लामा एकल वर्चस्व नरहने भने संकेत गरिसकेका छन। 

दुई केपीको प्रतिस्पर्धापूर्ण लालकिल्ला

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली हुन् वा कांग्रेसका प्रभावशाली नेता कृष्ण प्रसाद सिटौला अर्थात् दुई केपीको लागि इज्जत जोगाउन पनि जित्नै पर्ने चुनावी रणभूमि बनेको झापाको सुरुवाती मतपरिणाम प्रतिष्पर्धापूर्ण देखिएको छ। २०४६ पछि लामो समयसम्म लालकिल्लाका रुपमा चर्चित झापामा एमालेले लिएको सुरुवाती अग्रता रोक्न कांग्रेसले सफलता पाउने अनुमान गरिएको छ। 
झापाका कुल १५ स्थानीय तहमध्ये एमालेले ७ वटा स्थानीय तहमा अग्रता कायम लिँदा कांग्रेसले ६ वटा स्थानीय तहमा अग्रता कायम गरेर एमालेलाई धक्का दिइरहेको सुरुवाती मतगणनाले देखाएको छ। राप्रपाका लागि पनि झापा केही न केही जित हासिल गर्ने अपेक्षा गरिएको जिल्ला हो भने एमालेका अध्यक्ष ओलीका लागि गृहनगरमा बर्चस्व देखाउने थलो हो। उता कांग्रेसमा तेस्रो धारका नेताका रुपमा उदाउँदै गरेका पूर्व उपप्रधान तथा गृहमन्त्री सिटौलाका लागि कांग्रेसको शक्ति प्रदर्शनको अवसर पनि हो यो दोस्रो चरणको स्थानीय चुनाव।

साना दलले इज्जत धान्ने संकेत

डा. बाबुराम भट्टराईको नयाँ शक्तिले धनकुटाको एक वडामा पाएको चुनावी सफलता वा पश्चिमका केही वडामा राप्रपाले पाएको सफलता उनीहरुका लागि सुखद् सुरुवात बनेको छ।  संघीय समाजवादीले ३ र नेपाल लोकतान्त्रिक फोरम तथा राप्रपाले प्रारम्भिक मतगणनामा पाएको ५ स्थानको अग्रताले दोस्रो चरणमा यी दलहरुको पनि स्थानीय सरकारमा सीमित स्थानमा नै भए पनि पकड स्थापित हुने सुरुवाती संकेत देखिएको छ। 

सुरुवाती नतिजाले स्वतन्त्र हैसियतमा उठेका राजपा, नेकपा माओवादी वैद्य वा राप्रपा राष्टवादीका उम्मेद्वारको हालत के हुने हो भन्ने एकीन भैसकेको छैन, तर उनीहरुको जीतको संभावना झिनो रहेको मतगणना घोषणाको क्रमले देखाएको छ। तर, साना दलले शून्य विजयको खड्को भने टार्ने प्रष्ट संकेत दोस्रो चरणको सुरुवाती मतपरिणमले गरेकै छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell