
काठमाडौं: दार्जिलिङकी गायिका शान्ति ठटालले पलेँटीको श्रृङ्खलामा प्रस्तुती दिएकी छिन्। नेपालयको आरुशालामा हुँदै आएको सांगीतिक कार्यक्रम पलेंटीमा उनले आफ्ना डेढ दर्जन गीत प्रस्तुत गरिन्। शुक्रबार साँझ सम्पन्न पलेँटी श्रृङ्खला सहित पलेँटीमा यो उनको पाँचौं प्रस्तुती हो।
सम्पन्न कार्यक्रममा शान्ति ठटाल संगीतकारका रुपमा प्रस्तुत भएकी थिइन्। पलेँटीमा उनका सांगीतिक सृजनाहरूलाई गायिका मीना निरौला र दार्जिलिङकी गायिका सोनू राईले प्रस्तुत गरेका हुन्। सोनुले गीतहरू 'आमा', 'उडी जाऊँ भने म पन्छी होइन', 'मेरो कथा खाली खाली', 'नयाँ नयाँ घामको किरण', 'देउरालीमा पाती राखी' लगायत तीनवटा गीतहरू प्रस्तुत गरेकी थिइन्। त्यस्तै मीना निरौलाले ठटालका सदाबहार गीत 'सम्हालेर राखुँ', 'मेरो दुखी मन', 'आकाश झुक्य' सहित पाँचवटा गीत सुनाएकी थिइन्।
संगीतकारको रुपमा प्रस्तुत भए पनि ठटालले दल सिंह अकेलाको शब्द रहेको 'लिएको थिएँ तिम्रोबाट' बोलको गीत गाइन्। कार्यक्रमका क्रममा संगीतकार ठटालले आफ्नो समयका मूर्धन्य कलाकारहरू अम्बर गुरुङ, अरूणा लामा, नारायण गोपालसित सम्बन्धित स्मरणहरू सुनएकी थिइन्।
शान्ति ठटालको स्रोताको चाप बढेपछि शुक्रबार मात्र हुँदै आएको कार्यक्रम शनिबार पनि हुने भएको छ। त्यस्तै अगष्ट महिनाको पलेंटी श्रृङ्खलामा गायक उदय र मनिला सोताङको प्रस्तुती रहनेछ।