काठमाडौं : लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै अंक तालिकामा शीर्ष स्थानमा रहेको नेपाल स्ट्रोमलाई प्लेअफमा पराजित गर्दै श्रीलंकन लायन्स एसियन क्लब प्रिमियर लिग (एसीपिएल)को फाइनलमा प्रवेश गरेको छ।
शनिबार भएको प्लेअफअन्तर्गत पहिलो क्वालिफायरमा श्रीलंकन लायन्सले नेपाल स्ट्रोमलाई १२ रनले पराजित गरेको हो।
१ सय ७४ रनको लक्ष्य पछ्याउने क्रममा १७.५ ओभरमै १ सय ६१ रनमा अलआउट भएपछि नेपाल स्ट्रोम पहिलो क्वालिफायरमा पराजित भएको हो। श्रीलंकन लायन्ससँग हारेपनि नेपाल स्ट्रोमले बंगलादेश टाइगर्स र दुबई वारियर्सबीचको एलिमिनेटर विजेतासँग दोस्रो क्वालिफायर खेल्न पाउनेछ।
कीर्तिपुरस्थित टीयू मैदानमा पहिले ब्याटिङ गरेको श्रीलंकन लायन्सले एन समाराक्कोडीको अर्धशतक मद्दतमा पूरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो। समाराक्कोडीले ४० बलमा सर्वाधिक ५२ रन बनाए। यस्तै दीनेशले ४० रन जोडे।
नेपाल स्ट्रोमका दिशान्त यादव, आशिष भट्ट र गौरब बारबाडेले २-२ विकेट लिए।
जवाफमा जितेन्दर शर्माले २३ बलमा नटआउट ४२ रन बनाएपनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न नसक्दा नेपाल स्ट्रोमले पूरै ओभर समेत खेल्न सकेन। ४ खेलाडीले मात्र दोहोरो अंक बनाएको स्ट्रोमको इनिङ्समा शर्माले सर्विधक ४२ रन बनाए। यस्तै दिशान्त यादवले ३६, भुपेन्द्र थापाले २५ तथा ओपनर गौरब बारबाडेले १० रन जोड्नु बाहे अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।
नेपाल स्ट्रोमलाई जितबाट रोक्न श्रीलंकन लायन्सका करण वालिअ र आकाश गौटेलले ३-३ तथा भैवब आरोरवले २ विकेट लिए।