PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

विद्युत प्राधिकरणद्वारा धादिङमा भासिएको प्रसारण प्रणाली पुनर्निर्माण, उपत्यका अन्धकार हुने खतराबाट जोगियो



रासस

विद्युत प्राधिकरणद्वारा धादिङमा भासिएको प्रसारण प्रणाली पुनर्निर्माण, उपत्यका अन्धकार हुने खतराबाट जोगियो

  • रमेश लम्साल 
काठमाडौँ : काठमाडौँ उपत्यकाको एक तिहाई भन्दा बढी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने गरी धादिङमा भासिएको नेपाल विद्युत् प्राधिकरणको प्रसारण प्रणाली पुनःनिर्माण गरिएको छ। 

प्राधिकरणकाअनुसार मस्र्याङ्दी–काठमाडौँ १३२ केभी प्रसारण लाइनको टावर नं १७९ गोरखा भूकम्पको क्रममा भासिएको थियो। धादिङको नौबिसे र गजुरीका बीचमा पर्ने सो टावर पुनःनिर्माणका लागि ९२ दिन लागेको छ।

सिग्मा कोन प्रालिले सो टावरको मर्मत गरेको हो। मर्मतका लागि दुई करोड ७० लाख रुपैयाँ खर्च भएको छ। प्राधिकरणले १७८ र १८० नम्बरको नयाँ टावर निर्माण गरेको छ। 

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले विभिन्नस्तरका पर्खाल लगाउने तथा अन्य सुरक्षात्मक उपाय अपनाएर टावरको सुरक्षा गरिएपनि दिगो रुपमा नयाँ टावर नै राख्न विगत दुई दिनदेखि विद्युत् कटौती गरेर पुनः निर्माण गरिएको जानकारी दिए। 

यो प्रसारण लाइनले मस्र्याङ्दी कोरिडोरबाट ११० मेगावाट विद्युत् आपूर्ति गर्दै आएको छ। काठमाडौँ उपत्यकाको अधिकतम विद्युत् माग ३१० मेगावाट रहेको छ। त्योमध्ये मस्र्याङ्दी कोरिडोरबाट एक तिहाई विद्युत् काठमाडौँ आपूर्ति हुँदै आएको छ। 

हिउँदको समयमा सो टावरको पुनः निर्माण गर्नेतर्फ लाग्दा विद्युत्भार कटौती गर्नुपर्ने भएकाले बर्खाको समय नै छानिएको प्राधिकरणको भनाइ छ। विगतमा प्राधिरकणको व्यवस्थापनले ध्यान नदिएको उक्त टावर मर्मतमा थप ढिलाई गरिएको भए उपत्यकामा दैनिक सात घण्टा विद्युत्भार कटौती गर्नुपर्ने भयावह अवस्था आउने थियो। 

प्राधिकरणका प्रवक्ता अधिकारीले ग्राहकलाई जानकारी नै नदिइकन प्राधिकरणले मर्मत कार्य सम्पन्न गरेकाले विद्युत् आयातमा रहेको जोखिम समाधान भएको बताए।

गत हिउँदमा नै टावर मर्मत गर्ने कार्य अगाडि बढाउन खोजिएको भएपनि विद्युत्भार कटौती अन्त्य भइसकेको सन्दर्भमा पुनः विद्युत् कटौती गर्दा राम्रो सन्देश नजाने र ‘अँध्यारो’को खेती गर्नेले फाइदा लिने भएकाले बर्खा लागेपछि मर्मत सुरु गरिएको प्राधिकरणले जनाएको छ। 

टावर मर्मत कार्य सम्पन्न गर्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उच्च टोली कार्यस्थलमा पुगेका प्रवक्ता अधिकारीले जानकारी दिए। 

जुनसुकै बेला काठमाडौँ उपत्यका अन्धकार हुने खतराबाट जोगिएको जानकारी दिँदै उनले अन्य समस्यामा रहेका टावरलाई समेत क्रमशः मर्मत गर्ने बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell